टिकापुर घटनाका तीन कैदी रिहा, रेशम दम्पतीद्वारा कारागारमै पुगेर स्वागत

काठमाडौँ । टीकापुर घटनाको अभियोगमा कैलाली कारागारमा रहेका ३ जनाले आममाफी पाएका छन् । संविधान दिवसको अवसरमा आममाफी पाएपछि उनीहरु आजै रिहा भएका हुन् ।
संविधान दिवसको अवसरमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी अभियोगमा कारागारमा रहेका उनीहरु रिहा भएका हुन् ।
रिहा हुनेमा क्रमश, टीकापुर नगरपालिका वडा नम्बर ३ का वीरबहादुर चौधरी, साविकको मुनुवा गाविस वडा नम्बर ४ का प्रदीप चौधरी र हरिनारायण चौधरी रहेका छन् ।
उनीहरुलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता चौधरी, कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाश चौधरी लगायत प्रदेशसभा सदस्य, उन्मुक्तिका नेता तथा कार्यकर्ताले कारागारमै पुगेर स्वागत गरे ।
कैलाली कारागारबाट थप ६ जना कैदी पनि आममाफी पाएर रिहा भएका छन् ।