कार्यबाहक प्रधानमन्त्रीले भनेः शिक्षकको माग पूरा गर्दा राज्यलाई भार पर्छ

तु खबर संवाददाता
२०८० आश्विन ४,बिहीबार १८:४६
file-photo

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकको माग पूरा गर्दा राज्यलाई ठूलो भार पर्ने बताएका छन् ।

उनले शिक्षकलाई पेन्सन पाउन स्थायी शिक्षणको अवधि नपुगेमा १० वर्षसम्म अस्थायी शिक्षण अवधि गणना गर्नुपर्ने आन्दोलनरत शिक्षकको माग पूरा गर्दा अर्बौं भार पर्ने दावी गरे ।

कार्यबाहक प्रधानमन्त्री खड्काले अस्थायी शिक्षणको अवधि ७ वर्षसम्म गणना गरेर पेन्सन दिन भने सकिने उल्लेख गरे ।

बिहीबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टी उपसभापतिसमेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षक आन्दोलनमा विषयमा बोलेका थिए । स्थायी भएको अवधिले पेन्सनमा जान पुगेन भने सात वर्ष अस्थायीको अवधि थपेर पेन्सन दिने व्यवस्था विधेयकमा गरिएको छ ।

‘उहाँहरुले सातलाई बढाइदिनुपर्यो वा खुला गरिदिनुपर्यो भन्नुभएको छ । त्यो गर्दा अर्बौ अर्बौको अन्तर देखिने भयो’, खड्काले बैठकमा सुनाए ।