शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँछौँः प्रधानमन्त्री प्रचण्ड
न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई चाँडै तार्किक निष्कर्षमा पुर्याइने बताएका छन् । उनले त्यसका लागि सरोकारवालाहरुबीच सहमति जुटाउन प्रयास भइरहेको उल्लेख गरे ।
अमेरिकामा जारी संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सम्बोधनको क्रममा उनले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको प्रमुख राजनीतिक मुद्दा भएको बताउँदै सत्य निरुपण तथा संक्रमणकालिन न्यायसम्बन्धी विधेयक संशोधनका लागि संघीय संसद्मा दर्ता भइसकेको बताए ।
उनले पीडित सरोकारवाला पक्ष र समाजले ग्रहण गर्ने गरी शान्ति प्रक्रियालाई प्रतिवद्धता व्यक्त गर्दै त्यसका लागि सद्भाव र समर्थन गर्न आन्तराष्ट्रिय समूदायसमक्ष आह्वानसमेत गरे ।
देशमा शान्ति, सद्भाव कायम गर्दै समाजमा न्याय, शान्ति स्थापना गर्नका लागि पीडितहरुको समस्यालाई सम्बोधन गर्न उनीहरुसँग छलफल र अन्तरक्रिया गरेरमात्रै विधयेक संशोधनको लागि संसदमा प्रस्तुत गरिएको बताउँदै द्वन्द्वका समयमा भएका गम्भीर अपराधलाई आममाफी नदिने पनि स्पष्ट पारे ।
उनले भूराजनीतिक प्रतिस्पर्धा, आर्थिक राष्ट्रवाद र शक्तिको उन्मादले गर्दा विश्वमा शान्ति र सुरक्षा कायम गर्न चुनौती थपिएको भन्दै संयुक्त राष्ट्रसङ्घको वडापत्रमाथि नै गम्भीर समस्या उत्पन्न भएको देखिएको टिप्पणी गरे । प्रचण्डले विश्व समुदायलाई विद्यमान ‘कोर्ष’ परिवर्तन गरेर सबैको साझा लक्ष्य शान्ति, समृद्धि र प्रगति बनाएर अघि बढ्न आह्वान गरे ।
प्रचण्डले भने, ‘हामीले यो १५ वर्षमा धेरै काम गर्न सफल भयौँ । जननिर्वाचित प्रतिनिधिहरुमार्फत् हामीहरूले प्रजातान्त्रिक संविधान लागू गर्न सफल भएका छौँ । यो संविधान विश्वव्यापीरूपमा आत्मसात गरिएको मानवअधिकार, स्वतन्त्र न्याय, प्रजातान्त्रिक सहभागिता, आवधिक निर्वाचन, समावेशी–समानुपातिक प्रतिनिधित्व, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र कानुनी राजको अवधारणा अङ्गीकार गरिएको छ ।”
उनले नेपालमा देशमा लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहेको र दुई चरणको स्थानीय, प्रादेशिक, सङ्घीय संरचनाको निर्वाचन सम्पन्न भएर महिला, युवा, दलित र अल्पसङ्ख्यकहरूको सहभागितालाई सरकारी निकायमा सामेल गराउन सफल भएको बताए ।
उनलवे नेपालको अवको मुद्धा आर्थिक विकास भएको समेत स्पष्ट पारे । ‘राजनीतिक परिवर्तन त्यो बेलामात्र दिगो हुन्छ, जुन बेला हामीहरूले सामाजिक, आर्थिक वृद्धि, विकासलाई सँगै लिएर जान सक्छौँ । आर्थिक विकासका लागि अहिलेको सरकारले सम्पूर्ण सामथ्र्य र स्रोत लगाएको छ ।’ प्रचण्डले भने ।
प्रचण्डले समन्वयकारी नीति र वित्तीय घाटा, सङ्कटलाई सामना गर्नका लागि सुझाव प्रस्तुत गर्दै विश्वभर जलवायु परिवर्तनले मानिसका लागि संकट निम्त्याइरहेको विषयमा समेत चिन्ता व्यक्त गरे ।
प्रचण्डले भने, ‘अहिले हाम्रोजस्तो हिमाल भएका देशहरूले गम्भीर सङ्कटको सामना गर्नुपरेको छ, करिब दुई अर्ब जनसङ्ख्याको पानीको स्रोतका रूपमा रहेको हिमालयहरु जलवायु परिवर्तनले हिउँ पग्लिएर जाने प्रवृत्ति दिएको छ । यसले हामीहरुको हिमाललाई मात्र सङ्कट उत्पन्न गराएको छैन, लाखौँ मानिसहरूको जीवनलाई सङ्कटमा पारेको छ, यो एउटा गम्भीर अवस्था हो ।’ प्रचण्डले कुनै पनि प्रकारको आणविक हातहतियार तथा सैन्य खर्चमा नियन्त्रण गर्नुपर्नेसमेत बताए ।