बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप : ९ जना थुनुवा फरार
![](https://www.tukhabar.com/wp-content/uploads/2023/09/jayandu-bal-griha.jpg)
नेपालगञ्ज । बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपपछि ९ जना थुनुवा फरार भएका छन् ।
फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । प्रहरीका अनुसार, फरार रहेका सबैको खोजी गर्न प्रहरी परिचालन गरिएको छ ।
झडपका क्रममा ११ जना घाइते भएका थिए । घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ का सुलभ केसी रहेका छन् ।
मृतक केसी अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको मुद्दामा बाल सुधार गृहको थुनामा थिए । थुनुवाले सुधार गृहको भवनका झ्यालका सिसा, रेलिङ, बार भत्काएका छन् भने प्रहरीले चारैतिरबाट भवनलाई घेरेर राखेको छ ।
प्रहरीका अनुसार बाल सुधार गृहमा रहेको दुई मोटरसाइकल, एउटा कम्प्युटर तोडफोड गर्नुका साथै प्रहरीको पोसाकमा पनि आगजनी गरेका छन् ।
दुई ब्लक रहेको उक्त सुधार गृहमा अहिले पनि दुई पक्षबीच भनाभन भइरहेको छ । भवनभित्र तनाव जारी रहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा तैनाथ रहेका छन् ।