विद्यालय पुग्नै जोखिम

तु खबर संवाददाता
२०८० आश्विन ७,आईतवार १०:३३

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर–१२ धेत्रेदमारस्थित काला भैरव प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई बर्षाको समयमा पढाई छुट्ने चिन्ताले सताउँछ ।

वर्षाको समयमा बाटोमा पर्नेे धेत्रेखोला उर्लिएर आउँछ । बालबालिकाहरु खोला पार गर्न सक्दैनन् । खोला तारिदिने भेटे स्कुल जान्छन्, नत्र खोलाको किनारामा तारिदिने कोही आउँछ कि भन्ने आशमा कुरेर बस्छन् ।

‘विद्यालय पुग्न खोला तरेर जानुपर्छ । तर, खोलामा पुल छैन । पानी ठूलो पर्दा भेल आउँछ । ४/५ दिनसम्म पानी घट्दैन । खोला पार गर्दा चिप्लिएर धेरै पटक लडेको छु । किताब र झोला पनि बगाउँछ ।’ कक्षा ३ मा अध्ययनरत विकास विकले गुनासो सुनाए ।

विकलाई मात्रै होइन, अजिङ्गरेका विनिसा जिम्बार, चुवारपाखाका विकास भ्लोन, घेत्रेका विक्रम स्याङ्तान, विवेक स्याङ्तान र मुना विक वर्षाको समयमा विद्यालय जान नपाइने गुनासो गर्छन् । जसोतसो विद्यालय पुगेपनि घर फर्कने बेलामा पनि समस्या हुने गरेको उनीहरु बताउँछन् । खोला तर्न बर्षाको समयमा विद्यार्थीहरुले समस्या भोग्नु परेको छ । सो विद्यालयमा अधिकाँश आर्थिक रुपमा विपन्न र तामाङ समूदायका बालबालिका अध्ययनरत छन् ।

विद्यालय र घर आउनेजाने बाटोमा पर्ने धेत्रेखोलामा पुल छैन । हिउँदमा खोलामा पानी कम हुने भएकाले आउजाउमा समस्या हुँदैन । वर्षायाममा भने खोलामा पानी बढेपछि साना बालबालिका खोला तर्न सक्दैनन् । आकाश हेरेर विद्यालय जाने गर्नुपर्छ । खोलामा पुल नभएपछि विद्यार्थी नियमित रूपमा विद्यालय आउन नसकेको सो विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेले बताए ।

तस्वीरः विद्यालयका प्रधानाध्यापक चेतबहादुर घले

पुल नहुँदा स्थानीयलाई पनि समस्या भएको छ । शिक्षक शिक्षिकाहरु पनि जोखिम मोलेर विद्यालय पुग्छन् । ‘खोला सानो हुँदा कहिले अभिभावक त कहिले शिक्षकले नै विद्यार्थीलाई तारेर विद्यालय लगिदिनुहुन्छ । खोला धेरै बढ्यो भने त बालबालिकालाई मात्रै होइन, ठूलो मान्छेलाई पनि जोखिम हुन्छ’ प्रअ घलेले भने । झोलुङ्गे पुल निर्माण गर्दा त्यहाँको समस्या समाधान हुने घलेले बताए ।

स्थानीयले पटक पटक भोलुङ्गे पुल निर्माण गर्न सरोकारवाला निकायसमक्ष अनुरोध गरेको भएता पनि सम्बोधन नभएको स्थानीयहरुको गुनासो छ । यता, वडामा सामान्य बजेट हुने भएकाले वडा तहबाटै पुल निर्माण गर्न नसकिएको वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँले बताए ।

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले राडो नेपाल नामक संस्थाले पुल निर्माण गरिदिने प्रतिबद्धता जनाए पनि प्रक्रियागत समस्याले चालु आर्थिक वर्षमा पुल निर्माण गर्न नसक्ने भएको जानकारी दिए । उनले सो खोलामा पुल निर्माण गर्न गाउँपालिकाले पहल गर्ने बताए ।