भाइरल ज्वरोका कारण दुई जनाको ज्यान गयो
बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोका कारण दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सो वडाकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेका छन् ।
स्थानीय दीर्घबहादुर शाहीका अनुसार, भाइरल ज्वरोका कारण बुढाको चार दिन पहिले र शाहीको आइतबार ज्यान गएको हो ।
गाउँमा रहेका एक सय ६० बढी परिवारका सबै घरमा बिरामी परेका छन् । भाइरल ज्वरोले पुरै गाउँ नै प्रभावित रहेको स्थानीय गणेशबहादुर शाहीले बताए ।
ज्वरो १०३ डिग्री माथि आउने, खोकी लाग्ने, श्वास फुल्ने जस्ता लक्षण देखा परेको स्थानीयले बताएका छन् । गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टोली पठाउन लागेको स्वास्थ्य कार्यलयका निमित्त प्रमुख महेश चन्दले बताए ।
खप्तड छेडेदह गाउँपालिकाबाट दुई जना स्वास्थ्यकर्मी पठाइसकेको र जिल्ला स्वास्थ्य कार्यलयबाट औषधीसहितको टोली पठाउन लागेको चन्दले बताए ।
भाइरल ज्वरोबाट जेष्ठ नागरिक, बालवालिका र दिर्घरोगी सबैभन्दा बढी प्रभावित भएका छन् ।