नेपाल र चीनबीच केरुङ–चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति
काठमाडौं । नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को चीन भ्रमणको क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण निर्माण छिटो सुरु गर्ने सहमति भएको हो ।
मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङ/केरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने छ ।’
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तापछि विभिन्न सम्झौता र समझदारी भएपनि संयुक्त वक्तव्य भने मंगलबार बिहान मात्र सार्वजनिक गरिएको हो ।
संयुक्त व्यक्तव्यमा ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारा लाइन र सम्बद्ध सबस्टेसनको विकासमा सहयोगलाई थप प्रवर्द्धन गर्दै केरुङ–रसुवागढी–चिलिमे प्रसारण लाइन बनाउने सहमति भएको उल्लेख छ । यद्यपि यसको लगानीको विषय उल्लेख गरिएको छैन ।
केरुङ–चिलिमे प्रसारण लाइन बनाउन दुई देशबीच पाँच वर्ष अघि नै अध्ययन सुरु भए पनि थप प्रगति अघि बढेको थिएन ।