६० किलो सुन प्रकरण : संलग्न प्रतिवादीको बयान सकियो

तु खबर संवाददाता
२०८० आश्विन ९,मंगलवार १७:१९
file-photo

काठमाडौं । ६० किलो ७०० ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । प्रहरीको हिराशतमा रहेका २६ जनाको बयान सकिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको हो । सुन प्रकरणमा बुधबारबाट थुनछेक बहस सुरु हुने अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए ।

चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी कायम गरिएको छ । टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेष्टुरेण्टका संचालक हुन् ।

तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना प्रहरीको हिरासतमा छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३ जना फरारसहित २९ जनालाई प्रतिवादी कामय गरेर अदालतमा मुद्दा दायर गरेको छ ।