आजबाट इन्द्रसरोवरमा निःशुल्क आँखा शिविर
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आजबाट ३ दिने निःशुल्क आँखा शिविर हुने भएको छ ।
इन्द्रसरोवर गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा गाउँपालिकाको विभिन्न ५ स्थानमा निःशुल्क आँखा शिविर हुने भएको हो ।
पालिकाको स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीका अनुसार, आज पहिलो दिन अर्थात बुधबार फाखेल स्वास्थ्य चौकी र ५ नम्बर वडा कार्यालय चखेलमा आँखा शिविर हुने भएको छ ।
यस्तै, भोलि बिहीबार सिस्नेरी स्वास्थ्य चौकी र मार्खु स्वास्थ्य चौकीमा हुनेछ भने शुक्रबार इन्द्रसरोवर ग्रामीण आँखा केन्द्रमा हुने अधिकारीले बताए ।
निःशुल्क आँखा शिविरमा मोतिविन्दु पहिचान भएका बिरामीहरुका लागि इन्द्रसरोवर ग्रामीण आँखा केन्द्रले कुलेखानीमा शनिबार निःशुल्क शल्यक्रिया गरिने छ ।
यस्तै, आइतबार शल्यक्रिया भएको बिरामीको पट्टी खोलिनेछ । शिविरमा आँखा जाँच गर्न हेटौंडा र काठमाडौंबाट चिकित्सक र स्वास्थ्यकर्मीको टोली खटिने स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए ।