एमाले बागमती प्रदेशको मतदान जारी
काठमाडौं । नेकपा एमाले बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि हाल मतदान जारी छ । शुक्रबार साढे ११ बजेबाट सुरु हुने भनिएपनि झण्डै दुई घण्टा ढिलोगरी सुरु भएको मतदान एमाले पार्टी कार्यालय च्यासलमा भइरहेको हो ।
प्रदेश अधिवेशनमा एमालेले ४० वटा विद्युतीय मेसिन मतदानमा प्रयोग गरेको छ । बागमती प्रदेश अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी, एक उपाध्यक्ष पदका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितले उम्मेदवारी दिएका छन् भने दुई उपसचिवका लागि १० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
एक अध्यक्ष, एक उपाध्यक्ष, सचिव १ र २ उपसचिव पदाधिकारी र २४० सदस्य जनाको नयाँ कमिटीका लागि निर्वाचन भएको हो ।