एमाले बागमतीको मतदान जारी, हालसम्म ५०० मत खस्यो
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तरगत नयाँ नेतृत्वको लागि हाल मतदान जारी छ ।
पार्टी कार्यालय च्यासलमा भइरहेको मतदानमा हालसम्म ५०० मत खसेको छ । बेलाबेलामा विद्युतीय मेसिनले काम नगर्दा ढिला भएको मुख्य निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार, शुक्रबार अपराह्नसम्ममा पाँच सय जनाले मतदान गरेका छन् । एक जनालाई मत हाल्न कम्तिमा १० मिनेट लागेको बताइएको छ ।
१ हजार १ सय ६७ जना मतदाता रहेका छन् । ४० वटा विद्युतीय मेसिन मतदानमा प्रयोग गरिएको छ ।
बागमती प्रदेश अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी, एक उपाध्यक्ष पदका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितले उम्मेदवारी दिएका छन् भने दुई उपसचिवका लागि १० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
एक अध्यक्ष, एक उपाध्यक्ष, सचिव १ र २ उपसचिव पदाधिकारी र २४० सदस्य जनाको नयाँ कमिटीका लागि निर्वाचन भएको हो ।