‘भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभावकारी बनाउँछौँ’
मकवानपुर । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चलाएको भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभावकारी बनाउने प्रयासहरू भइरहेको बताएका छन् ।
गृहमन्त्री श्रेष्ठले सोमबार हेटौंडामा आयोजित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपाल अनलाइनको वार्षिकोत्सको उद्घाटन गर्दै यस्तो बताएका हुन् । भ्रष्टाचार र तस्करी नियन्त्रणको प्रयास निरन्तर रूपमा संचालन भइरहने बताउँदै उनले यो अभियानमा पूर्ण विराम नलाग्ने बताए ।
सरकारले सञ्चालन गरेको सुशासनको अभियानविरुद्ध सङ्गठित शक्ति आक्रामक ढङ्गले प्रस्तुत भइरहेको उनको आरोप छ । जनताले अनुभूति गर्ने गरी सरकारले काम गर्न नसकेको खण्डमा लामो संघर्ष पछि प्राप्त भएको राजनीतिक व्यवस्था परिवर्तनको औचित्य नहुने उनले बताए ।
उनले भने, ‘जनताले अपेक्षा गरे अनुसारको काम सरकारले गर्न नसके वर्तमान व्यवस्था परिवर्तनको औचित्य रहँदैन । जनताले सरकारको अनुभूति गर्न पाए मात्र व्यवस्था प्रतिको औचित्य रहन्छ ।’
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मुक्तान लगायतकाको आतिथ्यता रहेको थियो ।