आन्दोलनका कारण बन्द भएको पढाई असोज २८ र २९ गते हुने

तु खबर संवाददाता
२०८० आश्विन १७,बुधबार १०:०७

मकवानपुर । नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगरपालिकाले केही दिनअघि शिक्षक आन्दोलनका कारण बन्द भएको पढाई यही असोज २८ र २९ गते सञ्चालन हुने भएको छ ।

विद्यालय शिक्षासम्बन्धी विधेयकलाई लिएर नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा देशव्यापी रुपमा सम्पूर्ण विद्यालयहरु बन्द गर्दै गत असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौं केन्द्रित आन्दोलनको आयोजना गरिएको थियो ।

मंगलबार सिद्धार्थ मावि हेटौंडा–२ मा बसेको प्रधानाध्यापकहरु सहितको बैठकले सोही आन्दोलनका कारण बन्द भएको पढाई उक्त दिन गराउने निर्णय गर्दै सोही अनुरुप कार्यान्वयन गर्न हेटौंडा उपमहानगर क्षेत्रभित्र रहेका विद्यालयलाई निर्देशन दिएको हो ।

महासंघले उक्त आन्दोलनका दिनहरुमा हाजिरी रजिस्टरमा शैक्षिक आन्दोलन भनी अभिलेख राख्नसमेत भनिएको छ ।

साथै महासंघले उक्त आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई हार्दिक आभार व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरुको शिघ्रस्वास्थ्य लाभको कामना गरेको छ ।