मकवानपुरमा ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ तिनतलेमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहान साढे ११ बजेको समयमा हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको ना १ घ ५४४ नम्वरको दुध बोक्ने खाली ट्यांकर आफै अनियन्त्रित भई रोडबाट अन्दाजी १०० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्यांकरको चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआईडी बस्ने ३३ वर्षीय सिद्धान्त लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएकोमा दिउँसो १२ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
यस्तै, उक्त दुर्घटनामा परेर ट्यांकरको सहचालक धादिङ जिल्लाको गजुरी गाउँपालिका बस्ने ४५ वर्षीय प्रेम अधिकारी घाइते भएका छन् । घाइते उनको अवस्था मध्यम रहेको र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।