कृषिजन्य उद्योग खोल्न सके रोजगारीको सिर्जना गर्न सकिन्छ : माधव नेपाल

तु खबर संवाददाता
२०८० आश्विन १९,शुक्रबार १६:१४

मकवानपुर । नेकपा एकीकृत समाजावादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मुलकमा कृषिजन्य उद्योग खोल्न सके युवाहरुमा रोजगारीको सिर्जना गर्न सकिने बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले शुक्रबार हेटौंडामा समाजवादी अभियान अन्तर्गत जनसभालाई सम्बोधन गर्दै राष्ट्रिय पूँजीको विकास गरी मुलुकमा कृषिजन्य उद्योगहरू खोल्न सके युवाहरूमा रोजगारीको सिर्जना गर्न सकिने सम्भावना प्रशस्त भएको बताएका हुन् ।

अभियान अन्तर्गत आफ्नो पार्टीले कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार तथा आर्थिक समृद्धिका विषयहरु नागरिक माझमा पुर्याएको बताउँदै उनले कृषि तथा पर्यटन क्षेत्रको विकासबाट नागरिकहरुलाई समृद्धिमा जोड्ने प्रयत्न भइरहेको उल्लेख गरे ।

साथै उनले सरकारले गरेका कामहरु बारे जानकारी गराउन र पार्टीलाई आम नागरिकहरुसंग जोड्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । उनले पार्टी संगठन निर्माण तथा विस्तारसंग भ्रष्ट्राचार विरुद्धका अभियानमा जोडिन कार्यकर्ताहरुलाई आग्रह गरे ।