‘उपचार अभावमा कसैले ज्यान गुमाउनु पर्दैन’
हेटौंडा । नेपाल सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अब नागरिकहरुले उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको दावी गरेका छन् । वर्तमान सरकारले स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित हुने गरी रणनीति लिएकोले अब आर्थिक अवस्थाकै कारण स्वास्थ्य उपचारको सेवाबाट बञ्चित हुनुपर्ने बाध्यताको अन्त्य भएको उनले दावी गरे ।
आज हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले देशैभरका अस्पतालहरुमा १० प्रतिशत निःशुल्क उपचारको निर्णय कार्यान्वयन भइरहेको बताउँदै उक्त सुविधा लिन नसकेका विपन्न नागरिकको उपचार सरकारले गर्ने बताए । उनले विपन्नको उपचारको जिम्मा आफुले लिएको दावी गरे ।
‘हामीले सरकारी तथा प्राइभेट स्वास्थ्य संस्थाहरुलाई जनताको स्वास्थ्य उपचारको लागि सहज र सुलभ सेवा प्रवाह गर्न निर्देशन दिएका छौँ ।’ उनले भने ।
मन्त्री बस्नेतले चिकित्सा शिक्षा क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर अघि बढ्ने तयारी भइरहेको समेत उल्लेख गरे । स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधारसँगै कार्यान्वयनमा पनि सरकारले जोड दिएको उनको भनाई छ ।
मन्त्री बस्नेतले चिकित्सकमाथि आक्रमणको घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याइने बताए । चिकित्सक र स्वास्थ्यकर्मीहरु माथि भएका आक्रमणमा छानबिन गरी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।