हिमपहिरोमा परी कीर्तिमानी आरोही तेन्जेन शेर्पा बेपत्ता

काठमाडौं । हिमाल आरोही निर्मल पुर्जाको नाममा रहेको कीर्तिमान तोडेका आरोही गाइड तेन्जेन शेर्पा (लामा) तिब्बतस्थित शिशापाङ्मा हिमालमा गएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार असोज २० गते करिब १ बजे गएको हिमपहिरोमा परेर अमेरिकी नागरिक जिना मारिय रजुसिडलो र आरोही गाइड तेन्जेन बेपत्ता भएका हुन् ।
हिमपहिरोमा नेपाली गाइड मिङमार शेर्पा र अमेरिकी नागरिक अन्नु गुटु बेपत्ता भएकोमा उनीहरुको सोही दिन निधन भएको छ ।
यस घटनामा कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ र कामिरिता शेर्पा घाइते भएको पर्यटन मन्त्रालयले जनाएको छ ।
बेपत्ता भएकाहरुको खोजीकार्यको लागि मन्त्रालयले पहल गरिरहेको समेत जनाएको छ ।