औषधि व्यवसायी संघ मकवानपुरद्वारा नवनिर्वाचित केन्द्रीय समितिलाई स्वागत
मकवानपुर । नेपाल औषधि व्यवसायी संघको १४ औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिलाई जिल्ला शाखा मकवानपुरले स्वागत सम्मान गरेको छ ।
असोज २४ गते बुधबार स्वागत सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी मकवानपुर शाखाले केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवालसहित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत सम्मान गरेको हो ।
कार्यक्रममा नजिकिँदै गरेको बडा दसैं, तिहार, नेपाल सम्वत, छठ पर्व लगायत विभिन्न पर्वको अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् संघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष खण्डेलवालले आफ्नो नेतृत्वमा संघले व्यवसायीको हितलाई ध्यानमा राखेर सक्रियतापूर्वक काम गर्ने बताए ।
कार्यक्रममा औषधि व्यवस्था विभाग वीरगञ्जका प्रमुख किरणसुन्दर बज्राचार्य, संघका केन्द्रीय सदस्यद्वय सरला विष्ट, कपिला जोखी, बागमती प्रदेश अध्यक्ष ध्रुवनारायण श्रेष्ठ, मधेश प्रदेशका महासचिव पप्पुकुमार झा, पर्सा जिल्लाका अध्यक्ष ताज्वीन अन्सारी, चितवनका अध्यक्ष विनोदप्रसाद तिमल्सिना, हेटौंडा ११ की वडाध्यक्ष जुना दाहाललगायतको आतिथ्यिता रहेको थियो ।
कार्यक्रममा संघको जिल्ला संस्थापक स्व. प्रजाराज बैद्यको श्रीमती रुद्रकुमारी बैद्यलाई सम्मान गरिएको थियो । संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमलाई महासचिव भरत कार्कीले सहजिकरण गरेका थिए ।