मनाङ एयरको वायुसेवा संचालन प्रमाणपत्र निलम्बन

तु खबर संवाददाता
२०८० आश्विन २७,शनिबार १६:३०
file-photo

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको वायुसेवा संचालन प्रमाणपत्र (एओसी) निलम्बन गरेको छ । पछिल्लो तीन महिनाको अवधिमा दुई पटक दुर्घटनामा परेपछि उड्डयन प्राधिकरणले मनाङ एयरको एओसी नै निलम्बन गरेको हो ।

आज बिहान मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र रहेका थिए । हेलिकप्टरमा आगलागी भएको छ ।

यसअघि, तीन महिनाअघि मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा पाइलट चेतबहादुर गुरुङसहित ५ जनाको मृत्यु भएको थियो ।