मकवानपुरका केही लघुकथाको अध्ययन

सञ्जय साह मित्र
२०८० आश्विन ३०,मंगलवार १६:२७

१. विषय प्रवेश

नेपालको साहित्यिक राजधानी भनेर चिनिने मकवानपुर जिल्लाबाट प्रकाशित वैचारिक तथा साहित्यिक पत्रिका हो – लोक भावना त्रैमासिक । पत्रिकाका सम्पादक/प्रकाशक नानीमैया अधिकारी हुन् । २०६३/०६४ मा दर्ता भई निरन्तर प्रकाशन भइरहेको यस पत्रिकाको ६१ औँ अंक ‘लघुकथा विशेषंक’ को रुपमा प्रकाशित भएको छ ।

यस ‘लघुकथा विशेषांक’ मा प्रकाशित लघुकथाहरुको आधारमा ‘मकवानपुरका लघुकथाहरु’ को अध्ययन गर्ने प्रयास गरिएको छ । यस विशेषांकमा प्रकाशित लघुकथाका लघुकथाकारहरुको नाम पहिलो लघुकथाको शीर्षकपछि लगत्तै दिइएको छ भने लघुकथाकारको ठेगाना दोस्रो लघुकथाको अन्तमा दिइएको छ ।

हरेक लघुकथाकारका दुई–दुई लघुकथा प्रकाशित यस विशेषांकमा प्रकाशित लघुकथाकारहरुको लघुकथाको अन्त्यमा दिइएको ठेगानाको आधारमा ‘मकवानपुरका लघुकथा’ छुट्याइएको छ । अधिकांश लघुकथाकारले ठेगाना लेखेका भएपनि केहीले लेखेका छैनन् ।

ठेगाना लेखिएको आधारमा र एउटा पत्रिकाको आधारमा मात्र ‘मकवानपुरका लघुकथा’ को चयन गरिएकोले अत्यन्त कम लघुकथाको आधारमा मात्र विश्लेषण गरिएको छ ।

२.मकवानपुरका लघुकथाको अध्ययन

२.१. किशन पौडेल
हेटौंडा–४ का किशन पौडेलका दुई लघुकथा ‘खुसी’ र ‘आशीर्वाद’ शीर्षकमा रहेका छन् । पहिलो लघुकथा खुसीमा पौडेलले एक ढुंगालाई देवता बनाएर मन्दिरमा राखेपछि देवता नै दुःखी भएको र बगरमा जस्तो स्वतन्त्रता मन्दिरमा नभएको बताएका छन् । यस लघुकथाले समस्या सबैलाई हुने र सबैतिर समस्या हुने बताउँदै सुखको खोजीमा भौतारिनुभन्दा आफ्नै ठाउँमा सुखको खोजी गर्नु उचित हुने बताइएको छ ।

अको लघुकथा ‘आशीर्वाद’ मा इमान तथा स्वाभिमानलाई बन्धक राखेर गुलामी गर्नेहरुले आफूले सोचेजस्तो प्रगति गने गरेको कुरो बताइएको छ । जसले चाकरी गर्न जानेको छ, उसको प्रगति हुन्छ तर, स्वाभिमानीहरुको तुलनामा उसमा स्वाभिमानको शिर नहुने लघुकथामा बताइएको छ । पौडेलका दुवै लघुकथाहरु राम्रा छन् ।

२.२ पुरुषोत्तम आचार्य
हेटौंडा, मकवानपुर ठेगाना उल्लेख गरेका पुरुषोत्तम आचार्यका दुई लघुकथाहरु ‘समालोचक’ र ‘औँला’ शीर्षकमा प्रकाशित छन् । पहिलो लघुकथा समालोचकमा पहिले कवि रहेको ऊ पात्र पछि समालोचक भएको छ र पहिले कवितामा विचारको कुरा गर्ने ऊ पात्र कवितामा कलाको कुरो गरेको छ । परिस्थितिअनुसार बदलिने लेखकप्रति लघुकथामा चोटिलो व्यंग्य गरिएको छ ।

दोस्रो कथा हो औँला । यस कथामा एकताबद्ध हुन पनि चेतना चाहिन्छ र चेतना भएपछि कोही एक जनालाई स्वार्थले पछ्यायो भने एकता भंग हुने बताइएको छ । यो स्वैर काल्पनिक पात्रहरु औँलाहरु रहेको यथार्थवादी लघुकथा हो । औँलाहरुले कुरा गरेको स्वैर कल्पनाको यसमा प्रयोग गरिएको छ ।
आचार्यका दुवै लघुकथाहरु वैचारिक दृष्टिकोणले महत्वपूर्ण छन् । विचारप्रति दृढ रहन नसक्नेहरुलाई लघुकथामा व्यंग्य गरिएको छ ।

२.३. रमेशमोहन अधिकारी
‘व्रत’ र ‘सिट’ गरी दुई लघुकथाहरु प्रकाशित छन् रमेश मोहन अधिकारीका । अधिकारीले सोझै हेटौंडा ठेगाना उल्लेख गरेका छन् रचनाको अन्त्यमा ।

व्रत चरित्रप्रधान रहेको छ । रमलाले पतिको लागि निर्जला तिज गरिरहँदा पति रमण होटलमा एउटी युवतीसित पक्राउ परेको खबर आएको छ । नास्तिकहरुको चरित्रमाथि विश्वास हुँदैन भन्ने देखाइएको छ । कथाको प्रमुख पात्र रमलाको नाम सुरुमा रमिला हुन पुगेको छ ।

सिट शीर्षकको दोस्रो लघुकथामा युवावयमा विपरीत लिंगीप्रति हुने आकर्षणलाई देखाइएको छ । सिट भरिएपछि चढेकी एक सुन्दर महिलालाई बस्नलाई सिट मिलाइएको तर अधबैँसे महिलाले भने त्यत्तिकै उभिनु परेको अवस्थालाई दर्शाइएको छ । सहानुभूति राख्दा पनि आकर्षण देखेर राख्ने गरेको यसको मूल व्यंग्य हो ।

अधिकारीका दुवै लघुकथा सामाजिक विषयवस्तुका छन् । दुवैमध्ये कुनै पनि पात्राले सम्वाद गरेको छैन । अप्रत्यक्ष सम्वादको प्रयोग रहेको छ । लोक भावना वैचारिक तथा साहित्यिक त्रैमासिकको लघुकथा विशेषांकमा प्रकाशित लघुकथाहरु यिनै हुन् । मकवानपुरको प्रकाशन रहे पनि मकवानपुरका जम्माजम्मी तीन जनाका छ । लघुकथाहरु यसमा समाविष्ट छन् ।

३. निष्कर्ष

मकवानपुरका लघुकथाहरुको विषयवस्तु समसामयिक रहेकोे छ । पात्रमा भने यथार्थ र स्वैर कल्पनात्मक, मानवीय र गैरमानवीय गरी सबै किसिमको प्रयोग भएको देखिन्छ । लघुकथाको प्रवृत्तिमा पनि विविधता पाइन्छ । लघुकथाका उद्देश्यहरु पनि स्पष्ट हुन्छन् । लघुकथाको सैद्धान्तिक पक्षसित सहमत रहेका छन् । आयामका दृष्टिले पनि लघुकथाको वर्तमान प्रचलित मान्यताभित्रै रहेको देखिएका छन् लघुकथाहरु । प्रस्तुती कलाको दृष्टिकोणले पनि मकवानपुरका लघुकथारु विशिष्ट रहेका छन् । अधिकांश लघुकथाहरुमा हस्तक्षेपी तृतीय पुरुषको प्रयोग गरिएको छ । समग्रमा मकवानपुरका लघुकथाहरु पठनीय रहेका छन् ।