हेटौंडाको भुटनदेवी मन्दिरमा फुलपाती भित्र्याईयो

तु खबर संवाददाता
२०८० कार्तिक ४,शनिबार १०:२९
file-photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित भुटनदेवी मन्दिरमा फुलपाती भित्र्याइएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहितको शोभायात्राको टोलीले स्थानीय भुटनदेवी मन्दिरको दसैँघरमा आज बिहान धार्मिक विधि अनुसार फूलपाती भित्र्याइएको हो ।

नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाक्री र धार्मिक भक्तजनहरु सम्मिलीत शुभयात्राले फुलपाति भित्र्याइएको हो ।

सो फुलपाति लिन मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यराज सेढाई, बागमती प्रदेश प्रहरी नायव महानिरीक्षक किरण राणा, मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजाल, नेपाली सेनाका उच्च अधिकृतहरु, स्थानीय समाजसेवी, धार्मिक भक्तजन र राजनीतिक दलका प्रतिनिधिहरु गोरेक्षश्वर मन्दिरमा पुगेका थिए ।

यसैगरी, बडादसैँको अवसरमा आज दिउँसो २ बजे हेटौंडा–२ बनस्खण्डी मन्दिरको दसैँघरमा फूलपाती भित्र्याउने कार्य तालिका रहेको भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिका अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए ।

बनस्खण्डी मन्दिरको दसैँघरमा पनि नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाक्री र धार्मिक भक्तजनहरु सम्मिलीत शुभयात्राले फुलपाती भित्र्याइने उनले जानकारी दिए ।