मकवानपुरमा दसैं अवधिमा १४ वटा सवारी दुर्घटना, तीन जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा दसैंको अवधिमा १४ वटा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सो अवधिमा जिल्लाको विभिन्न १२ स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मृत्यु हुनेहरुमा काठमाडौं महानगरपालिका–२७ महाबौद्ध निवासी ६२ वर्षीया राज्यश्री थापा क्षेत्री, विरगञ्ज महानगरपालिका–३० बिश्रामपुर बस्ने १८ वर्षीय बिपिन महत्तो र बागमती गाउँपालिका वडा नं.६ ठाडीखोला बस्ने २२ बर्षीय सन्तोष दर्लामी रहेका छन् ।
मृतकमध्ये राज्यश्रीको स्कुटर दुर्घटनामा, बिपिनको क्रेन दुर्घटनामा र सन्तोषको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
यस्तै, सो अवधिमा भएको दुर्घटनामा परेर ७० जना घाइते भएका छन् । तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।