अग्रज पत्रकार एवम् साहित्यकार साहलाई तु खबरको ९ प्रश्न

तु खबर संवाददाता
२०८० कार्तिक २०,सोमबार १६:१५

लामो समयदेखि पत्रकारितामा निरन्तर क्रियाशील सञ्जय साह (मित्र) बज्जिका भाषाको अनुसन्धानकर्ता एवम् विज्ञ हुन् । उनी नेपालमा बज्जिका भाषाको पत्रकारिताको आरम्भ विन्दुको रुपमा चिनिन्छन् ।

बज्जिका भाषाको पहिलो प्रकाशकीय तथा सम्पादकीय लेखेका साह हाल गोरखापत्र दैनिकमा बज्जिका भाषा सम्पादकको रुपमा कार्यरत छन् । उनी तु खबर डटकमका स्तम्भकार पनि हुन् ।

पछिल्लो समय मधेशमा बज्जिका भाषामा रेडियोहरु आफ्नो मुख्य स्थानीय समाचार प्रसारण गर्दछन् । पत्रिका पनि प्रकाशन भएका छन् । बज्जिका पत्रकारिता पनि मधेश प्रदेशको समग्र पत्रकारिताभित्र नै पर्दछ । समग्र पत्रकारितासँगै यो पनि अगाडि बढेको छ । तर, सन्तुष्ट हुने अवस्था नभएको साह बताउँछन् । पत्रकारितामा भाषाको अवस्थालाई अझै प्रभावकारी बनाउन सचेत वर्ग अगाडि बढ्नुपर्ने र सचेतनाको अभाव भएको अवस्थामा त्यहाँ राज्यले प्रोत्साहन र संरक्षणको नीति लिनुपर्ने साहको बुझाइ छ । साह अग्रज साहित्यकार समेत हुन् । उनै साहसँग तु खबरले मधेश प्रदेशमा पत्रकारिता र साहित्य क्षेत्रको अवस्थाबारे गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

मधेश प्रदेशमा समग्र पत्रकारिता र साहित्य क्षेत्रको अवस्था कस्तो छ ?

शिक्षा र साक्षरता दरमा मधेश प्रदेश निरन्तर पछाडि छ । जहाँ चेतनाको अभाव हुन्छ त्यहाँ पत्रकारिताले त विकास गर्ला तर साहित्यको अवस्था भने कमजोर रहिरहन्छ । अहिले पनि यही अवस्था छ । मधेश प्रदेशमा पत्रकारिता फस्टाइरहेको छ । पत्रकारिता क्षेत्रसित हजारौँ जोडिएका छन् । नवयुवा वर्गको आकर्षण झन् बढेको छ । रेडियो, टेलिभिजन, अखबार तथा अनलाइन सबै क्षेत्रमा मधेश प्रदेशले फड्को मार्दै लगेको छ तर साहित्यमा भने पछाडि परेको छ । मधेश प्रदेशमा रहेर साहित्य सिर्जना गर्नुभन्दा पलायन हुने र मधेश प्रदेशको बारेमा साहित्य सिर्जना गर्ने प्रवृत्ति हावी छ ।

प्रदेशमा बसेर होइन कि प्रदेशभन्दा बाहिर बसेर यहाँको वासिन्दा भएर साहित्य सिर्जना गर्ने प्रवृत्तिले यहाँ साहित्यको पाठक बढ्न सकेको छैन । फेरि पनि अशिक्षा, अज्ञानता, आर्थिक अभाव र पलायनवादी सोचले साहित्य क्षेत्रको अवस्थामा खासै सुधार आउन सकेको छैन तर पत्रकारिताले भने निरन्तर विकासको यात्रामा प्रगति गरिरहेको देखिएको छ, सन्तोषजनक छ ।

पत्रकारिता क्षेत्रमा देखिएका विकृति कसरी न्यूनिकरण गर्न सकिएला ?, पत्रकार र पत्रकारिताप्रति आम नागरिकको विश्वास बढाउन के गर्नुपर्ला ?

जसको बजार बढिरहेको हुन्छ, विकृति पनि त्यसैमा बढिरहेको हुन्छ । जुन कुरा बजारबाट लोप भइरहेको हुन्छ त्यसमा विकृति वा स्वीकृति दुवै पक्ष खिइँदै गइरहेका हुन्छन् । पत्रकारिता क्षेत्रमा विकृति बढेको भनिएको कुरामा पनि यो लागू हुन्छ । पत्रकारितामा विकृति किन बढेको छ भने पत्रकारिताप्रति समाजको विश्वास छ, आकर्षण छ । आकर्षण भएकोले सबै किसिमका मानिस आकर्षित भएका छन् । कोही यसलाई पेसा बनाउँछन्, कोही सोख । कोही कवच बनाउँछन् त कोही देखाउने दाँत । जुन उद्देश्यले यस पेसामा आएका छन्, सोही उद्देश्यअनुसार कार्यरत हुन्छ कोही ।

बजारको आवश्यकताभन्दा बढी सञ्चारमाध्यम र सञ्चारकर्मी भएका छन् । अस्वस्थ प्रतिस्पर्धा बढेको छ । बिना कुनै मापदण्ड आफूलाई पत्रकार भनिरहँदा प्रश्न उठाउने आधार पनि हुँदैन । सबैभन्दा सहज र सरल भएको छ पत्रकारिता गर्न । अध्ययन, अनुभव, जिम्मेवारी र नैतिकता बुझ्ने भएपछि विकृति पनि बुझ्ने हुन्छन् । बुझेर र नबुझेर पनि विकृति भित्र्याइएका छन् । पत्रकारितामा मापदण्ड निर्धारण भए विकृति न्युनीकरण गर्न सजिलो हुन्छ र विकृति न्युन भएपछि पत्रकार र पत्रकारिता पेसाप्रति आम नागरिकको विश्वास स्वतः बढ्छ ।

पत्रकार महासंघले सदस्यता शुद्धिकरणको विषय पटक–पटक उठाउने गरेको भएपनि कार्यान्वयन हुन सकेको छैन । महासंघलाई तपाईको सुझाव के छ ?

पत्रकार महासंघ पनि यही समाजभित्रको एउटा संस्था हो । समाजको कुनै क्षेत्र छ जहाँ कुनै किसिमको नकारात्मकता छैन ?  समाजमा हुने सबै तत्त्वको मिश्रण महासंघमा पनि छ । तर सदस्यता सुद्धीकरणको अभियान चलिसकेको छ । यसको गति अपेक्षाकृत शुद्ध छ । फेरि यो पनि एउटा समस्या हो कि कोही महासंघको सदस्य नहुँदैमा पत्रकार रहँदैन भन्ने पनि होइन । सक्रिय सदस्यहरुको विश्वासको साझा आधार अवश्य हो । विस्तारै कार्यान्वयन होला भन्ने विश्वास लिन सकिन्छ । महासंघलाई पनि महासंघको नियमावलीमा भएको व्यवस्थाअनुसार पत्रकारको संस्था बनाइरहन सुझाव दिन सकिन्छ ।

सञ्चार माध्ययमले प्रकाशन/प्रशारण गर्ने समाचार सामग्रीलाई सत्यतथ्य, निष्पक्ष, वस्तुनिष्ट, सन्तुलित एवम् गुणस्तरीय बनाउन के गर्नुपर्ला ?

सञ्चार माध्यममा तिनका सञ्चारकर्मीले नै प्रकाशनार्थ/प्रसारणार्थ समाचार सम्प्रेषण गर्ने हुन् । समाचार सामग्रीलाई सत्यतथ्य, निष्पक्ष, वस्तुनिष्ट, सन्तुलित र गुणस्तरीय बनाउन सम्बन्धित सञ्चार माध्यमले आफ्ना सञ्चारकर्मीलाई यस अनुरुपको बनाउनुपर्छ, सञ्चार माध्यमले पनि कहिलेकाहीँ छड्के गर्नुपर्छ । आचार संहिताले भनेको जस्तो पत्रकारिता गर्नुपर्छ ।

तपाई बज्जिका भाषाको अनुसन्धानकर्ता एवम् विज्ञ नै हुनुहुन्छ । बज्जिका पत्रकारिताको स्थिति के छ ? पत्रकारितामा भाषाको अवस्थालाई अझै प्रभावकारी बनाउन के गर्नुपर्ला ?

नेपालमा बज्जिका भाषाको पत्रकारिताको आरम्भ विन्दु हुँ म । पहिलो प्रकाशकीय तथा सम्पादकीय मैले लेखेको छु । अहिले बज्जिका भाषामा रेडियोहरु आफ्नो मुख्य स्थानीय समाचारहरु प्रसारण गर्दछन् । पत्रिका पनि प्रकाशन भइरहेको छ । बज्जिका पत्रकारिता पनि मधेश प्रदेशको समग्र पत्रकारिताभित्र नै पर्दछ । समग्र पत्रकारितासँगै यो पनि अगाडि बढेको छ । तर, सन्तुष्ट हुने अवस्था भने छैन । पत्रकारितामा भाषाको अवस्थालाई अझै प्रभावकारी बनाउन सचेत वर्ग अगाडि बढ्नुपर्छ तर जहाँ सचेतनाको अभाव छ त्यहाँ राज्यले प्रोत्साहन र संरक्षणको नीति लिनुपर्छ । प्रदेश सरकारले अग्रसरता लिनुपर्छ ।

पत्रकार र संचार माध्ययमप्रति सरकार उदार देखिँदैन । कानूनहरु पनि मिडियामैत्री बन्ने गरेका छैनन् । मिडियालाई अंकुश लगाउने कानून बन्नुको कारण के हुनसक्छ ?

उदारता र पारदर्शिता पनि परिभाषित हुनु जरुरी छ । बजारमा कोही पूर्णतया नाङ्गो हिँड्छन् भने त्यसलाई असुन्दर, असभ्य वा यस्तै केही भन्न सकिएला । बजारमा पनि कलात्मक नाङ्गोपनाको महत्त्व हुन्छ । कतिसम्म देखाउने वा कतिसम्म छोप्ने, यो समाज र संस्कृतिमा निर्भर हुन्छ ।

श्रमजीवि पत्रकार ऐन बनेपनि लागू हुन सकेको छैन ? के कारणले समस्या भएको होला ? ऐन लागू नहुँदा मोफसलका श्रमजीवि पत्रकारहरुले के–कस्ता समस्या भोगिरहेका छन् ?

श्रमजीवी पत्रकार ऐन लागू हुनुपर्छ । यसलाई लागू गराउन श्रमजीवी, सरकार र सञ्चार उद्यमी तथा श्रमजीवी पत्रकारका सङ्गठनहरू सबै पक्षबिच सम्वाद तथा सहकार्य आवश्यक छ । ऐन लागू नहुँदा मोफसलका पत्रकारलाई जीवनयापनमा समस्या आएको छ । जीवनयापनमा समस्या आउँदा पत्रकारितामा विकृति पनि आएको छ । हालै एउटा नगरपालिकाले सञ्चारकर्मीलाई इन्धन उपलब्ध गराएको सूचना बाहिरिँदा प्रतिष्ठित सञ्चार माध्यमका स्थानीय सञ्चारकर्मीहरूको नाम पनि सार्वजनिक भएका छन् । यसबाट यो पनि उजागर हुन आयो कि स्थानीय तहमा ठूला सञ्चार माध्यमको पहुँच छ । यस किसिमको विकृतिले झन् समस्या नै निम्त्याउने हो ।

कला, भाषा, साहित्य एवम् पत्रकारितालगायत क्षेत्रमा राजनीतिक दलको प्रभाव हाबी हुँदै गएको पाइन्छ । यी क्षेत्रहरुलाई राजनीतिक दलमुक्त बनाउन सकिँदैन ?माथि नै भनिसकेको छु – यी सबै समाजसापेक्ष हुन् । कला, भाषा, साहित्य, पत्रकारितालाई समाजबाट अलग राखेर मूल्याङ्कन गर्न सकिँदैन । समाजबाटै सबै क्षेत्रमा मानिस जान्छन् । हाम्रो सामाजिक यथार्थ यही हो कि हाम्रो हरेक क्षेत्र राजनीति प्रेरित र प्रभावित छ । मूल्याङ्कनको पहिलो आधार राजनैतिक पहुँच, संलग्नता र दोस्रो आधार योगदान हुने गरेको छ । राज्यको स्वरुप राजनैतिक छ भने कला, भाषा, साहित्य, पत्रकारिता कुनैलाई पनि राजनीतिमुक्त बनाउन सकिँदैन ।

देखिने, स्पष्ट बुझिने, परोक्ष रुपमा प्रभावित हुने गरी मात्राको कुरो कमोबेसी मात्र हो । यी सबै क्षेत्रमा लागेका मानिस चाहिँ सामान्य मानिसभन्दा प्रज्ञावान् हुने र प्रज्ञावान्मा पनि राजनैतिक चेतना पनि उच्च हुने भएकाले राजनैतिक संलग्नता स्वाभाविक हुन्छ । यद्यपि यसको प्रभावलाई कम गर्न प्रत्यक्ष संलग्नता देखिएका, भ्रातृ सङ्गठनमा रहेका तथा सोझै राजनीति गरिरहेकाहरुले भने आफैँले कला, भाषा, साहित्य र पत्रकारितालाई अझ उचाइयुक्त बनाउन यी क्षेत्रका पुरस्कार र सम्मान ग्रहण नगर्ने, यस्ता संस्थाका पदहरुमा आसिन नहुने र अरुलाई पनि शुद्ध पेसाकर्मी वा योगदानकर्मीलाई प्रोत्साहन गर्न प्रोत्साहित गर्नुपर्छ ।

पत्रकारिता क्षेत्रका अवसर र चुनौतीलाई कसरी विश्लेषण गर्नुहुन्छ ? पत्रकारितामा आउन चाहाने नयाँ पुस्तालाई के सुझाव दिनुहुन्छ ?
पत्रकारितालाई अवसर देख्ने कि चुनौती ? यहाँनेर नै दृष्टिकोणगत विविधता छ । जसले पत्रकारितामा अवसर छ भनेर सोच्दछन्, उनले यहाँ जहिले पनि अवसर मात्र खोज्छन् । अवसर भनेकै सिढी हो जसले माथि पुर्याउँछ । माथि पुग्न चाहनेका लागि यो अवसरै अवसर भएको क्षेत्र हो । तर, पत्रकारितालाई चुनौती देख्नेले पत्रकारिता जहिले पनि चुनौतीको क्षेत्र हो ।

चुनौती देख्ने पत्रकारिता भित्रको चुनौती पनि देख्दछन् र घटाउन वा हटाउन प्रयत्न गर्दछन् । साथै समाजमा रहेका विकृति, विसङ्गतिलाई पनि घटाउन र हटाउन प्रयत्नशील रहन्छन् । वास्तवमा पत्रकारिता अवसरवादीका लागि अवसरै अवसर भएको क्षेत्र हो भने वास्तविक पत्रकारका लागि यो पेसा निरन्तर चुनौतीले भरिएको हुन्छ । जुनसुकै अवस्थामा पनि चुनौतीपूर्ण रहने पेसा नै पत्रकारिता हो ।

पत्रकारिता पेसामा आउन चाहने नयाँ पुस्ताले भने आउन चाहेको कारणसहित उद्देश्यमा स्पष्ट हुन जरुरी छ । लहलहैमा आउनुभन्दा यसको मर्मप्रति समर्पित भाव राखेर आउनु राम्रो हुन्छ । यो रोजगारी वा स्वरोजगारीको क्षेत्र मात्र नभएर समाजलाई कसरी उठाउन सकिन्छ भन्ने चेतना जगाउने क्षेत्र पनि भएकोले सचेत भएर आउँदा राम्रो ।

साहित्य क्षेत्रको प्रर्वद्धन गर्न के गर्नुपर्ला ?

साहित्यले आदर्श समाज खोज्दछ । साहित्यले खोजेको समाज भन्नु चाहिँ जहिले पनि प्रगतिशील समाज हो । साहित्य क्षेत्रको प्रवद्र्धन पनि समाजको विकासजस्तै हो । विकासको अन्तिम लक्ष्य के हुन्छ ? साहित्यको अन्तिम लक्ष्य त्यही हो । साहित्यले विकासको सम्भावनालाई देखाउँछ । यदि यस क्षेत्रको प्रवद्र्धन हुने हो भने भविष्यमा सुन्दर समाज कस्तो हुने ? साहित्यले नै कल्पना गर्न सक्छ, बाटो देखाउन सक्छ । यसकारण साहित्यको प्रवद्र्धनमा समाजको सबै क्षेत्र गम्भीर हुनुपर्छ ।

साहित्य क्षेत्रको प्रवद्र्धनको लागि सर्वप्रथम समाजका सदस्यले साहित्यको अध्ययन गरिदिनुपर्यो । अध्ययनको वातावरण सामाजिक निकाय वा संस्थाहरूले बनाउनु पर्यो । साहित्यकारलाई प्रोत्साहन गर्नुप¥यो । सम्मानको भावले हेर्नुपर्यो ।

अन्तमा केही भन्न चाहानुहुन्छ की ?

एक साहित्यकार र पत्रकारले आफूले भन्नुपर्ने कुरो सदैव समाजलाई भनिरहेकै हुन्छ । समाजमा आफ्नो कुरो राख्नको लागि सबैभन्दा बढी अवसर साहित्यकार र पत्रकारलाई नै हुन्छ । सम्पूर्ण पाठकलाई अध्ययनको भोक लागिरहोस् र यो तिर्सना आजीवन नमेटियोस् । नवयुवा पुस्तामा अलिकति हतार गर्ने प्रवृत्ति रहेको छ । कतिपय अवस्थामा हतारमा निर्णय लिएर फुर्सदमा पछुतो मान्नुपर्ने हुन्छ । पछिल्लो समयमा पत्रकारिताको आयामको निकै विस्तार भएको छ । यसकारण साधारण भाषामा भन्ने गरेको अवसर यस क्षेत्रमा पर्याप्त छ ।

ब्रेकिङ न्युज आजभोलि सामाजिक सञ्जालले दिन थालेको छ । यसर्थ पत्रकारितामा लाग्नेको लागि अब ब्रेकिङको हतारभन्दा गहिराइमा पुग्ने बाटो खोज्नु आवश्यक छ । गहिराइले दिने निष्कर्षले स्थापित तुल्याउने हो, पहिचान दिने हो । त्यसपछि अवसर आउँछ खोज्दै ।
तु खबर परिवारले गरिरहेको सार्थक कार्यको समाजले मूल्याङ्कन गरिरहेको छ । जति गर्नुपर्ने हो, त्यत्ति अझै हुन सकेको छैन । तु खबरको निरन्तर प्रगतिको कामना गर्दछु ।