पेस्तोल, खुकुरी र रड देखाएर ५० लाख रुपैयाँभन्दा बढीको लुटपाट
जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–८ रतवारा गाउँको एक घरमा गएराति पेस्तोल, खुकुरी, रड र अन्य हतियार देखाएर ५० लाख रुपैयाँभन्दा बढीको लुटपाट गरिएको छ ।
स्थानीय जयकिशोर चौधरीको घरमा गएराति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित आएका पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिई उक्त रकम बराबरको धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरीसहित परिवारका चार जना सदस्यलाई पेस्तोलसहित विभिन्न हतियार देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरी बाँकी कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेको हुन् ।
घरको पछाडिबाट घरभित्र छिरेका उनीहरुले भित्र छिर्ने वित्तिकै चारै जनामाथि धारिलो हतियार प्रहार गर्दै टाउको फुटाउनुका साथै हात, मुक्का र लात्तीले पटक–पटक हान्दै १ः३० देखि करिब २ बजेसम्म लुटपाट गरेको पीडित परिवारले प्रहरी समक्ष जानकारी गराएका हुन् ।
डाका समूहको प्रहारबाट घाइते भएका सबैको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको जनाइएको छ ।
घटनाबारे प्रहरीलाई बिहान मात्रै जानकारी भएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।