आदरणीय शान्तदासको सम्झना

सञ्जय साह मित्र
२०८० मंसिर ४,सोमबार ०९:३८

साहित्यकारको परिचय उसको कीर्ति हुन्छ । विभिन्न साहित्यकारको नामसित केही कीर्ति वा परिचय वा प्रवृत्ति स्वाभाविक रुपमा जोडिएर आउँछ । कतिपयको परिचय यस्तै बिम्बद्वारा मस्तिष्कमा निर्माण भइसकेको हुन्छ । यस्तै देशमा बालसाहित्यकारको बिम्ब बन्न पुगेका छन् शान्तदास मानन्धर ।

हेटौँडा बसाईँको क्रममा श्यामप्रसाद शर्मासहित शान्तदास मानन्धरसित चिनजान भएको थियो । हेटौँडाको नवलपुरनजिक रहेको सरस्वती खोलास्थित आदरणीय पत्रकार कौशल पाण्डेको घरमा पनि एक चोटि उहाँ पुग्नु भएको थियो । श्यामप्रसाद शर्मा त बरोबरजसो पुगिरहने ठाउँमध्ये एक थियो ।

मैले एकचोटि सरस्वतीखोला टोल र अर्को एकचोटि हेटौँडामा भेटेको हुँ । सम्भवतः एकपटक काजीबहादुर लामिछानेसित उहाँको घर वा कसैको डेरामा काठमाडौँमा पनि भेटेको हुँ । हेटौँडाको कुनै एउटा कार्यक्रममा पनि आदरणीय मानन्धरसित भेट भएको हो ।

‘बालकोसेली’ साहित्यिक पत्रिका उहाँको चिनारी थियो । जहिले बालकोसेली प्रकाशित हुन्थ्यो र हेटौँडामा रहेको आदरणीय देवप्रसाद तिमल्सिनाको पसलमा आइपुग्थ्यो, मैले एउटा लिने गरेको थिएँ । देव सर पसलमा भएको बेला मैले चाहिँ ‘बालकोसेली’को पैसा तिर्ने गरेको थिइनँ तर अरु कोही हुँदा भने पैसा तिर्थेँ । उनका कतिपय पुस्तक चाहिँ काजीबहादुर लामिछाने, कौशल पाण्डे र रमनलाल कर्णबाट लिएर/पाएर पढेको हुँ । काजीबहादुर लामिछानेबाट प्राप्त भई पढेको ‘बसिबियाँलो’ निबन्ध संग्रहले मलाई पनि निबन्ध लेखनमा प्रेरणाको काम गरेको हो । यद्यपि श्यामप्रसाद शर्माका निबन्धका कृतिहरु मैले सबैभन्दा बढी पढेको हुँ । ‘बसिबियाँलो’ मलाई फरक किसिमले उत्कृष्ट निबन्ध लागेको हो । यसैले यसको स्मरण मलाई सदैव भइरहने छ । ‘तँ, तिमी, तपाईँ , हजुर’ जसरी श्यामप्रसाद शर्माको पहिचान हो, त्यसरी नै मलाई लाग्छ ‘बसिबियाँलो’ शान्तदास मानन्धरको पनि पहिचान हो ।

‘बालकोसेली’ त साँच्चिकै बालबालिकालाई एउटा कोसेली नै थियो । भाषा र साहित्यमा अभिरुचि हुनेले आफ्ना नानीको लागि एउटा किन्थे । यसलाई प्रौढहरुले पनि मन पराएका थिए । धेरैको दृष्टिमा ‘बालकोसेली’ का पर्याय हुन् मानन्धर । बालबालिकाका अग्रज साहित्यकार हुन् । बालबालिकालाई सही मार्ग देखाउने र असल साहित्यमार्फत नयाँ बाटो देखाउने साहित्यकार पनि हुन् शान्तदास मानन्धर ।

‘बालकोसेली’ का पर्याय विशिष्ट साहित्यसेवी मानन्धरलाई बालबालिकामा निरन्तर चिनाइरहने अमर कृति हो – चार डाला नाक । यस ‘चार डाला नाक’लाई कल्पनाशीलता र प्रस्तुतिको दृष्टिकोले गुलिवरको ‘लिलिपुट’ जस्तो कालजयी रचना मानिन्छ । हुन त यो धेरै मोटो छैन । यो कृति आफैँमा पातलो छ, जसरी सामान्यतया बालबालिकाका लागि भनेर लेखिएका पुस्तकहरु हुन्छन् । यस कृतिको विशिष्टता यो पनि सम्झना छ कि यसमा चित्रहरु दिइएका छन् । यो चित्रकथात्मक कृति हो । यो ओजस्वी कृति निकै राम्रो छ । यसको बारम्बार मैले अध्ययन गरेको छु । यसको कथानकलाई बालबालिकामाझ निकै पटक प्रस्तुत गरेको छु । हेटौँडा हुँदा पनि यस कृतिको बारेम बालबालिकामाझ चर्चा गरेको छु । जिएस निकेतनमा ‘सुनौलो बिहानी समूह’का सदस्यहरुलाई किनेर पढ्ने सल्लाह दिएको हुँ । केहीले किनेर पढेको वा किताब मलाई देखाएको अहिले पनि सम्झना छ ।

सरल व्यक्त्वि शान्तदास मानन्धरमा गहन वैचारिक दृढता थियो । बालबालिकालाई असल बनाउनुपर्छ, असल बनेकालाई प्रशंसा गर्नुपर्छ, प्रोत्साहन गर्नुपर्छ, बालबालिकामा कुनै कारणले घमण्ड पनि हुन सक्छ र घमण्ड भयो भने त्यसलाई कुनै सजायद्वारा होइन बालसाहित्यको अध्ययनले कम गर्न सकिन्छ । मनोविज्ञानमा परिवर्तन ल्याउन सकिन्छ भन्नेजस्ता विचार तथा यसअनुरुपको साहित्य सिर्जना उनका साहित्यमा बौद्धिक सम्पत्ति हुन् ।

करिब दुई दशकदेखि हेटौँडामा छैन । अनौपचारिक रुपमा हेटौँडा आइरहने अर्थात् हेटौँडा आइरहने तर साहित्यिक कार्यक्रमहरुमा त्यत्ति सहभागी हुने तारतम्य नमिलाउने अग्रज स्रष्टा शान्तदास मानन्धर मैले हेटौँडाको बसाईँ औपचारिक रुपमा छडेर रौतहट आइसकेपछि भेट हुन पाएको थिएन । अचानक बिरामी भएको एक जना साहित्यकारको पोस्ट पढेँ । उक्त पोस्टमा आदरणीय साहित्यकारलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेर पोस्टमा कमेन्ट लेखें । त्यसको केही समयपछि सोही दिन अचानक एक जनाको पोस्टमा पढें – बालसाहित्यकार मानन्धर हामीबिच रहनु भएन ।

मैले उहाँका धेरै किताब पढेको छु । आज जब उहाँको निधनको खबर बाहिर आएको छ, म धेरै दुःखी भएको छु । हुन त जीवनभर सबैले बाँचेकै हुन्छन् । जीवनपछि भौतिक जीवन बाँच्ने निकै कम हुन्छन् । अझ आफू नपुगेको ठाउँमा पुगेर बाँच्ने कमै मानिस हुन्छन् । यस्ता कम मानिसमा कलाकार तथा लेखकहरु हुन्छन् । साहित्यकार शान्तदास मानन्धर चाहिँ यस्ता व्यक्ति हुन् जो बाल साहित्यमार्फत बालबालिकामाझ नेपाली भाषा र साहित्य पुगेको ठाउँसम्म पुगेका छन् र नेपाली साहित्यमार्फत बालबालिकाको चरित्र विकासमा निकै ठूलो योगदान दिएका छन् । बालदिवसको अवसरमा तथा विद्यालयस्तरीय साहित्यिक प्रतियोगिताहरुमा बालकोसेली नभएको कुनै पुरस्कार नै हुन्थेन । जहाँ बालबालिकाको सहभागितामा कुनै कार्यक्रम हुन्थ्यो र कुनै कारणले बालबालिकाको उपस्थिति हुन्थ्यो, त्यहाँ बालकोसेली पुग्थ्यो । सचेत पाठकमा पुग्ने गरेको बालकोसेलीसँगै निसन्देह शान्तदास मानन्धरको व्यक्तित्व पुग्ने गर्दथ्यो । र, अहिले जब अध्ययनको संस्कृति केही कमजोर भएको छ तथा बालबालिकाहरु मोबाइल गेममा व्यस्त भएका छन्, तब बालसाहित्यको क्षेत्रमा शान्तदास मानन्धरहरुको सक्रियता फेरि महसुस भएको छ ।

बालबालिकाका लागि साहित्य लेख्ने, साहित्य लेख्नेलाई प्रोत्साहन गर्ने तथा प्रकाशित गरिदिने प्रकाशक, सम्पादक तथा विशिष्ट बाल साहित्यकार शान्तदास मानन्धरको भौतिक देहावसानले बालसाहित्यको क्षेत्रमा एकातिर अपूरणीय क्षति भएको छ भने अर्कोतिर नेपाली बालसाहित्यको एउटा कालखण्डको पनि समापन भएको छ ।