रौतहटमा ग्याङ फाइट हुँदा ३ जना घाइते
रौतहट । रौतहटको कटहरियामा बुधबार राति दुई युवा समूहबीच ग्याङ फाइट हुँदा तीन जना घाइते भएका छन् ।
कटहरिया नगरपालिका भवन छेउमा विवेक जैसवाल र अन्जित कुमार साह नेतृत्वको युवा समूहबीच ग्याङ फाइट हुँदा तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा २० वर्षीय विवेक जैसवाल, अन्जित कुमार साह र महेश कुशवाहा रहेका छन् । उनीहरूलाई कटहरियामा सामान्य उपचारपछि थप उपचारको लागित राति नै वीरगञ्जस्थित सूर्या अस्पतालमा लगिएको थियो । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार साँझ छठ पर्वको अवसरमा पूजा गर्न जाँदा कटहरिया–५ लालबकैया नदी किनारमा विवेक र अन्जितबीच सामान्य भनाभन भएको थियो । त्यसको भोलिपल्ट गत सोमबार पिकनिक मनाउन जाँदा पनि उनीहरूकीच पुनः भनाभन भएको थियो ।
सोही विषय लिएर बुधवार साँझ दुवै समूह बिचको विवाद हुँदै ग्याङ फाइटमा परिणत भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।