‘पलाँस’ को ‘फ्ल्यास ब्याक’

सञ्जय साह मित्र
२०८० मंसिर ३०,शनिबार ०९:१७

‘बधाई : – साहित्य संगम मकवानपुरका सदस्य रामशरण पुडासैनी यसै अंकदेखि मृगतृष्णा साहित्य डबलीको प्रकाशनहरुमा सम्पादक चयन भएका छन् ।’

‘पलाँस’तीन महिने हवाई पत्रिकाको फूल २ पत्र ६ २०५८ साउन पूर्णाङ्क ६ को भित्री पृष्ठमा लेखिएको छ । ‘हसासनेमा दर्ता भएको नेपालको पहिलो हवाई पत्रिका’ भनेर प्रारम्भमै लेखिएको ‘पलाँस’ को सम्पादक मण्डलमा श्यामकुमार बानियाँ, शिवकुमार काशी, दीपेन्द्र ढकाल ‘दीप’, गोविन्द एसिड र रामशरण पुडासैनी रहेको उल्लेख गरिएको छ । पत्रिकाको मुख्य पृष्ठमै लेखिएको छ – मृगतृष्णा साहित्य डबली मकवानपुरका लागि सम्पादक/प्रकाशक :– रामकुमार एलन । कला :– ऋषि के.बी., मुखपृष्ठमै लेखिएको छ ।

– यस पटक मकवानपुरका गीतकारहरु मात्र समेटेका छौँ ।
– वरिष्ठ कलासाधक भीम विरागको कर्मभूमि भएकोले गीत विशेषाङ्क निकाल्ने हाम्रो जमर्को भयो ।
– तपाईहरुले मायादिइरहनु भएको छ ।
– हामी यसरी नै अगाडि बढ्ने छौँ ।
– नववर्ष २०५९ देखि द्वैमासिक हुने जमर्को गर्दैछौँ ।
– सल्लाह, सुझाव, रचनाहरु यसरी नै आइरहोस् ।’
पत्रिकाको सम्पादकीयमा लेखिएको छ ।

‘पलाँस’ को शाब्दिक अर्थ हुन्छ:

१. काठको चुरोभन्दा बाहिर रहेर बोक्राभन्दा भित्र पट्टिको भाग ।
२. बोटबिरुवाका पात
३.सुगाका ठुँडका आकारमा रातो, सेतो, पहेँलो र निलो रङका फूल फुल्ने एक जातको बोट, पलास, किंशुक, त्यसको फूल ।

शब्दार्थ हेर्दा ‘पलाँस’ तीन महिने साहित्यिक पत्रिका तेस्रो अर्थसित सम्बन्धित हो भन्ने बुझिन्छ । यद्यपि साहित्यमा कुनै एक अर्थ मात्र लाग्दैन । र, प्रज्ञा नेपाली बृहत् शब्दकोशले दिएको माथिका तीन ओटै अर्थ पनि पत्रिकाको नामको भावसित नमिल्ने चाहिँ होइनन् ।

पत्रिकामा क्रमशःबुख्याँचा बस्ती नेपालका रामकुमार एलन, श्यामकुमार बानियाँ, दामन २ मकवानपुरका कुमार नेगी, ऋषि के.बी., तुलाराम थापा लाफा (तिर्खाएको बादल, गीति संग्रहबाट), हाँडीखोला ३ मकवानपुरका रामशरण पुडासैनी, कमलडाँडा हेटौँडा ४ की तिमल्सिना अप्सरा, हर्नामाडी ६ का लक्ष्मण बानियाँ, रमेश राना (सम्पादक– प्रतिभा प्रकाश), हर्नामाडी ८ मकवानपुरका राम अविकास, कमाने हेटौँडा ८ की बबी थापा, धादिङ आमभञ्ज्याङ ३ का देउती गौतम, धादिङ आमभञ्ज्याङकी गोपिनी गौतम, हर्नामाडी ८ मकवानपुरका सूर्यमणि योञ्जन लामा, हर्नामाडी ७ मकवानपुरकी सुमित्रा आचार्य र आइआर ढकालका गीतहरु प्रकाशित छन् ।

रामकुमार एलनको गीत माया प्रेममा अल्झिएको छ । एलनको गीतको मुखडा यस्तो छ:

मेरो माया लाग्छ भने मसानघाटमा आउनू
लास जलेको खरानीलाई सिंदुर संझी लाउनू ।

यसै गरी श्यामकुमार बानियाँ निराशाको गीत गाउँछन् ।  बानियाँको गीतको मुखडा यस्तो रहेको छ:

नीलो भुइँमा कालो बादल पोतिएको बेला
सबै तुच्छ लाग्छ मलाई मात्तिएको बेला ।

भावनामा नाताको गीत गाउँछन् कुमार नेगी । उनको गीत अलिक लामो भएपनि मुखडा यस्तो रहेको छ :

हो.. हो.. हो.. हो…आ.. हा.. हा..
सबैभन्दा ठूलो रैछ भावनाको नाता ।

ऋषि के.बी.ले पनि संक्षिप्त गीतमा निराशाको स्वर मिसाएका छन् । उनी गुनगुनाउँछन् :

मृत्यु उत्सव आजको यो जमानामा
निर्बाध घुम्दैछ हर जीवनको जातोमा ।

माया प्रेमको मिठो गुनगनाहट सुनिन्छ तुलाराम थापालाफाको । उनको गीतको मुखडा छ :

तिमी मेरो जिन्दगीमा यौटा मिठो धून
कहाँबाट आयौ भन मेरो मुटु छुन ।

विरह र निराशाको प्रकटीकरण रामशरण पुडासैनीको गीतमा सुनिन्छ । गीतमा उनी वेदना सुनाउँदा मुखडा यसरी सुरु गर्छन् :

धेरैचोटि धाएँ मैले तिम्लाई खोज्न पँधेरीमा
सधैँजसो कति बस्छौ लुकेर नै अँधेरीमा ।

तिमल्सिना अप्सराले संस्कृतिमा आएको विकृतिको धुन गाएकी छन् । अप्सराको गीतको मुखडा यस्तो रहेको छ :

चौबन्दी चोलो, ज्यादै भो होलो लगाउने कोही छैन
के भयो यस्तो, टोपी भो सस्तो लगाउने कोही छैन ।

लक्ष्मण बानियाँ पनि विरहको वेदना गाउँछन् । बानियाँको गीतको मुखडा छ :

सक्दिन खप्न पीडा मनमनै म रुन्छु
कहिले म छटपटिन्छु कहिले बेहोस हुन्छु ।

रमेश रानाले त्याग र समर्पणको गीत गाएका छन् । उनी गुनगुनाउँछन् :

बिहानीको लालीसँगै फर्किएर हेर मलाई
गोधूलीको शीतलतामा पखिएर हेर मलाई ।

रामअविकास गाउँको सम्झनामा विरहको वेदना माभाका हाल्दछन् । अविकासको गीतको मुखडा यस्तो छ :

म आउन भ्याइन, बिदा नै पाइनए बरिलै मुग्लानै पसेर
यो नौलो ठाउँ, विदेश गाउँ ए बरिलै आँशु नै झरेर ।

प्रेममा त्याग र समर्पणको गीत बबी थापाले गाएकी छन् । थापाको गीतको मुखया यस्तो छ :

जति दुःख आए परोस् चुपचाप सहिदिउँला
रुनै परे तिम्रो यादमा म आफैँ रोइदिउँला ।

प्रकृति, संस्कृति तथा मायालाई प्रेमको गीत देउती गौतमले गाएका छन्, मुखडा यस्तो छ:

मन त मेरो गाउँबेसी धाउने
गाउँछु गीत संस्कृति जोगाउने ।

गोपिनी गौतमले देशको पीडा र व्यथाका साथै समस्या अनि गर्नुपर्ने कामलाई गीतमा गुनगुनाएकी छन् । गीतको मुखडा यस्तो छ:

दसैंको बेलामा रमाइलो मेलामा आऊ साथी नाचनगाउन
रातो टीका झलल निधारमा हाँसी, खेलौँ अहिलेको दसैंमा ।

सूर्यमणि योञ्जन लामाले प्रेम र विछोडको गीत गाएका छन् । लामाको गीतको मुखडा यस्तो रहेको छ:

हे मेरो प्राण माया छ दिलमा कसोरी नरोऊ
आँखामा तिमी मुटुमा पनि कसोरी म भुलूँ ।

सुमित्रा आचार्यको गीत प्रेममय छ । आचार्यको गीतको मुखडा यस्तो छ:

तकियाको खोल भिज्यो वियोगले रुँदा
सुसाएन पापी खोला नारी मन रुँदा ।

आइआर ढकालको गीत प्रेमले परिपूर्ण छ । ढकालको गीतको मुखडा यस्तो छ:

मरिहत्ते नगर है माया लाउने धूनमा
म पनि त तिमीलाई देख्छु पूर्णिमाको जूनमा ।

मकवानपुर विशेषांकको मूलमा चाहिँ प्रेम गीत नै रहेको छ । अधिकांश रचनाको मुख्य विषयवस्तु प्रेम रहे पनि देशको पीडा र समस्या तथा मानवता पनि आएका छन् । मानवीय समस्यामा गीतहरु हृदय खोलेका छन् । विषय वैविध्यको सूक्ष्मता गीतहरुमा पर्याप्त छन् । सरल भाषामा गहिरा भावको उद्बोधन भएका गीतहरु पठनीय पनि छन् ।

‘पलाँस’ सम्भवतः इतिहास भइसकेको छ तर यसको सुगन्ध हराएको छैन । मकवानपुरको साहित्यिक महकमा ‘पलाँस’ सुगन्ध मनमोहक रहेको छ । र, यो गीति गुच्छा त झन् विशिष्ट नै रहेको छ ।

(साहित्यमामकवानपुरको महक, शृङ्खला १८)