‘विधिको शासन र बन्धुत्वको भावना स्थापित गराउँछौँ’

तु खबर संवाददाता
२०८० पुष ९,सोमबार १७:०३

सन् १९७८ मा स्थापित भई मकवानपुरका युवाहरुको नेतृत्व एवम् व्यक्तित्व विकास र समग्र समाजको हितका सन्दर्भमा हेटौंडा जेसीजले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । विधिको शासन, बन्धुत्वको भावनालाई आत्मसाथ गर्दै अघि बढेको जेसीजले समाजमा बेग्लै पहिचान स्थापित गराएको छ । सकारात्मक परिवर्तनको लागि युवा नेतृत्व, मानवीय हितलगायतका विभिन्न कार्यक्रम लिएर जेसीजले व्यक्तिगत, समुदायिक व्यावसायिक र अन्तरराष्ट्रिय गरी ४ क्षेत्रमा जनस्तरसम्म पुगेर काम गरिरहेको छ ।

हेटौंडा जेसीज वर्ष २०२३ को नेतृत्व श्रवणकुमार बर्तौलाले गरिरहेका छन् । उनी सन् २०११ मा जेसीजमा आवद्ध भएका हुन् । वर्ष २०१३ का अध्यक्ष कृष्णबहादुर कार्कीको प्रेरणाबाट जेसीजमा होमिएका बर्तौलाले एक दशकको अवधिमा संगालेका अनुभवहरुलाई निकै महत्वका साथ लिएका छन् ।

बर्तौला सामान्य परिवारका व्यक्ति हुन् । उनले केही वर्ष मकवानपुर बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनको नेतृत्व गरे । जेसीजमा आवद्ध भएपछि मात्रै जेसीज हुनेखानेहरुको र धनीहरुको संस्था हो भन्ने आम बुझाई गलत रहेछ भन्ने थाहा पाए । बरु, जेसीज त व्यक्तित्व, नेतृत्वसँगै क्षमता विकास गर्ने विश्वविद्यालय पो रहेछ भन्ने अनुभूति गरे ।

२०१६ सम्म विभिन्न जिम्मेवारीसहित सदस्यकै रुपमा रहेर सिकिरहे । २०१७ मा उपाध्यक्ष, २०१८ मा तालिम संयोजक, २०१९ मा इभिपीमा उपविजेता, २०२० मा इभिपी विजेता हुँदै उनी अघि बढिरहे । २०२१ मा महासचिव, २०२२ मा जनसम्पर्क अधिकारी हुँदै बर्तौला २०२३ मा शाखा अध्यक्ष भए ।

उनी प्रश्नबाटै ज्ञानको सुरुवात हुन्छ भन्ने विश्वास गर्छन् । क्षमता विकासका लागि लाज नमान्न, आफैँ जागरुक हुन, प्रश्न गर्न नयाँ पुस्तालाई उनको सुझाव छ । बर्तौलाको अनुभवमा मुख्यत, जुन पेशामा आवद्ध मानिस जेसीजमा प्रवेश गर्छ, उसलाई सम्बन्धित क्षेत्रको नेतृत्व गर्न जेसीजले सहयोग पुर्याउँछ । मुल नेतृत्वमा आउन र नेतृत्वको प्रभाव छाड्न उनलाई जेसीजले सिकायो । उनै बर्तौलासँग वर्ष २०२३ मा जेसीजले गरेका काम, नजिकिँदै गरेको अधिवेशनको तयारीलगायतका विषयमा तु खबरले केही जिज्ञासा राखेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अँश ।

सवालः हेटौंडा जेसीज वर्ष २०२३ को नेतृत्व गर्नुभयो र अहिले कार्यकालको अन्तिम क्षणमा हुनुहुन्छ । समग्रमा हेटौंडा जेसीजको संस्थागत विकासको सन्दर्भमा तपाईँको नेतृत्वमा के कति काम भए ?

जवाफः हेटौंडा जेसीजको ४५ औँ अध्यक्षको रुपमा म पदस्थापित भइसकेपछि, मेरा केही उद्देश्यहरु थिए । मैले बाचा गरेका, उठान गरेका केही विषयवस्तुहरु पनि थिए । हाम्रो जेसीजको एउटा भवन र करिब ४ कठ्ठा जमिन पनि छ । हाम्रा अग्रजहरुको ठूलो मिहेनत र संघर्षबाट जुन भवन बनेको थियो, त्यसको छानो पुरानो भइसकेको थियो । त्यसलाई नयाँ फेर्छु भनेको थिएँ । त्यस्तै फलसिलिङ गर्छु र भवनमा जेसीजको मात्रै नभई अन्य विभिन्न संघसंस्थाहरुले पनि कार्यक्रम गर्न मिल्ने गरी कार्यक्रम हल तयार गर्छु भनेको थिएँ ।

म अध्यक्ष सर्वसम्मत हुनुभन्दा अघि मैले सदस्य, शुभचिन्तक, र हेटौंडा जेसीजप्रति चासो राख्नेहरुको माझमा गरेका प्रतिवद्धता पूरा गर्ने प्रयन्त गरेको छु । श्रवण बर्तौला अध्यक्ष भएर आएपछि के त जेसीजमा, भन्ने धेरैको चिन्ता र चासो थियो । अब के हुन्छ त पुरानै निरन्तरता हुन्छ कि केही नयाँ पनि हुन्छ भन्ने थियो । हामीले केही नयाँ काम सुरु गर्यौँ । हेटौंडा उपमहानगरपालिकाबाट रु ५ लाख र वडा कार्यालयबाट रु ५ लाख गरी १० लाख बजेट स्वीकृत गरायौँ । मैले प्रतिवद्धता गरेअनुसारको काम कविन सांगामीज्यूको नेतृत्वमा समिति बनाएर गरिरहेका छौँ ।  अब तुरुन्तै जस्तापाता फर्ने, फलसिलिङ गर्ने र जेसीजको भवनलाई नयाँपन दिने तथा हल निर्माण भइसकेपछि सबै संघसंस्थाहरुले त्यहाँ कार्यक्रम गर्नसक्ने बनाउँदैछौँ । त्यो तीव्र गतिमा भइरहेको छ ।

सवालः तपाईँको नेतृत्वमा सामुदायिक क्षेत्रमा हेटौंडा जेसीजको उपस्थिति कस्तो रह्यो ?

जवाफः जेसीजमा ४ क्षेत्र छन् । जसमध्ये एउटा समुदायिक क्षेत्र हो । हामी व्यक्तिगत, व्यावसायिक र अन्तरराष्ट्रिय क्षेत्रमा विशेषगरी का गर्छौँ । व्यक्तिगत क्षेत्रमा व्यक्तिको व्यक्तित्व विकासमा चासो दिन्छौँ । नेतृत्व विकासका लागि तालिम, उद्घोषणकला, भाषणकला, पार्लिमेन्ट्री मिटिङ प्रोसिडियरसम्बन्धि तालिम र समय व्यवस्थापनलगायतका अन्य विविध किसिमको मानव जीवनलाई अगाडि बढाउन आवश्यक पर्ने तालिम दियौँ । एउटा व्यक्तीलाई सक्षम र प्रतिभावान् एवम् दक्ष बनाउन तालिम दिएर व्यक्तिगत क्षेत्रमा काम गर्यौँ । जेसीज तालिमको विश्वविद्यालय हो । आम बुझाईमा जेसीज विशेषगरी नेतृत्व विकास र व्यक्तित्व विकासको काम गर्ने संस्था हो भन्ने छ । तर, हामीले सामुदायिक क्षेत्रमा पनि एकदमै नयाँ कामहरु गर्यौँ । हामीले जेसीज सप्ताह अन्तरगत सामूदायिक हितका लागि नगद पुरस्कारसहित साइक्लिङ प्रतियोगिता गर्यौँ । स्लोबाइक प्रतियोगिता गर्यौँ । बढिरहेको सवारी दूर्घटना न्यूनिकरणका लागि तीव्र गति, जीवन क्षति भन्ने सन्देश प्रवाह गर्यौँ । हामीले आयोजना गर्ने कार्यक्रममा सम्बन्धित क्षेत्रका मानिसहरुलाई अतिथि बोलायौँ ।

त्यस्तै लागूपदार्थ दूव्र्यशनीबाट अहिले धेरै युवा ग्रसित छन् । लागूपदार्थ दूर्वशनीविरुद्ध ४ वटा विद्यालयमा विगतमा भइरहेको भन्दा केही फरक तरिकाले कार्यक्रम गर्यौँ । लागूपदार्थ सेवन गर्नुहुँदैन भन्ने, भाषण दिने भन्दा पनि सम्बन्धित विषय शीर्षक दिएर ४ विद्यालयमा, त्यहाँकै विद्यार्थीहरुलाई अध्ययन गर्न लगाएर उहाँहरुलाई नै बोल्न लगायौँ । प्रगति, भुटनदेवी, सिद्धार्थ, आधुनिकलगायतका विद्यालयमा यस्ता कार्यक्रम भए । भनेको जुनजुन विद्यालयमा हामीले कार्यक्रम गर्यौँ, शीर्षक दियौँ । त्यहीँकै विद्यार्थीहरुले अध्ययन गरेर बोल्नुभयो । त्यो नयाँ कार्यक्रम भयो भन्ने लाग्छ ।

अर्को हाजिरिजवाफ प्रतियोगिता गर्यौँ । ३ जनालाई पुरस्कृत पनि गर्यौँ । जेसीजकै सदस्यहरुको नेतृत्व विकास होस् भनेर आन्तरिक प्रतिस्पर्धात्मक कार्यक्रम पनि गर्यौँ । रक्तदान कार्यक्रम आयोजना भयो । हेटौँडाको विकट क्षेत्र चिप्लेटीमा त्यहाँका बालबालिकाहरुलाई करिब ५० हजार बराबरको स्टेशनरी सामग्री वितरण गर्यौँ । जेसीज स्कुल भनेर पनि विकास गर्दैछौँ । हामीले त्यो कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँज्यूलाई प्रमुख अतिथि बनाएर लगेका थियौँ । यहाँका बालबालिकाको हितको लागि बजेट नै विनियोजन गर्नुभएको छ । ठूलो जनसहमागितामा मकवानपुरको विकट क्षेत्रमा दन्त, आँखा, गाइनोलगायत बृहत स्वास्थ्य शिविर आयोजना गर्यौँ, जसबाट हजारौँ मानिसहरु लाभान्वित भए । सामुदायिक क्षेत्रमा हेटौंडा जेसीजको उपस्थिति बलियो भयो भन्ने मलाई लाग्छ ।

सवालः युवाहरुको व्यक्तित्व विकास र नेतृत्व विकासको सवालमा जेसीजले गरेका गतिविधि सन्तोषजनक नै रह्यो ?

जवाफः व्यक्तित्व विकास र नेतृत्व विकास भन्ने जुन जेसीजको नारा छ, हामीले त्यससँग सम्बन्धित धेरै गतिविधि सञ्चालन गर्यौँ । हेटौंडाकै ठूलो शैक्षिक संस्था हेटौंडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्य गरेर उद्यमशील पाठशाला कार्यक्रम आयोजना गर्यौँ । त्यो व्यावसायिक क्षेत्रको कार्यक्रम थियो । उद्यमशील पाठशालाका लागि यहाँका २० जना व्यावसायी छनौँट गर्यौँ । चिया बेच्नेदेखि फर्निचर व्यापारी, होटल व्यावसायी, हार्डवेयर सञ्चालकलगायतका विभिन्न प्रकारका व्यवसायीहरु कार्यक्रममा हुनुहुन्थ्यो । उहाँहरु सबैलाई एकै ठाउँमा राखेर उद्यमशील पाठशाला अन्तरगत उहाँहरुले गरिरहनुभएको व्यवसायमा कसरी रुपान्तरण गर्न सकिन्छ भनेर हामीले चर्चा गर्यौँ । सुधारका निम्ति सुझाव संकलन गर्यौँ । विज्ञबाट सल्लाह लियौँ । सहभागी सबै खुसी हुनुभयो यसअर्थमा त्यो कार्यक्रम निकै प्रभावकारी भयो भन्ने लाग्छ । हामीले राष्ट्रिय पब्लिक स्पिकिङ कम्पिटिशन आयोजना गर्यौँ । नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्यो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । यस्ता धेरै कार्यक्रम भए ।

सवालः समाजका अन्य क्षेत्रसँगको सहयोग– समन्वय कस्तो रह्यो ?

जवाफः व्यक्ति, परिवार र अन्य विभिन्न अंगहरु मिलेर समाज निर्माण हुन्छ । सुन्दा सानो लागेपछि समाज निकै बृहत र जटिल विषय हो । त्यसकारण हामीले समाजका विभिन्न क्षेत्रसँग समन्वय गरेर सामाजिक हितको सवालमा केही नयाँ काम गर्ने प्रयास पक्कै गर्यौँ । जिल्ला समन्वय समितिसँग सहकार्य गर्यौँ । हेटौंडा उपमहानगरपालिका र अन्य स्थानीय तहसँग सहकार्य गर्यौँ । जनप्रतिनिधिज्यूहरुबाट पनि सहयोग प्राप्त भयो ।

जेसीज भनेको सय डेडसय मानिसको समूह हो, बाहिर यसको के प्रभाव होला र भन्ने बुझाई थियो बाहिर । तर, अहिले सबै राजनीतिक, सामाजिक, आर्थिक, धार्मिकलगायत सबै संस्थालाई जेसीजसँग जोडेका छौँ । जेसीजको उद्देश्य र यसको प्रभावबारे बुझाउन सकेका छौँ । यसले १८ देखि ४० वर्षका युवालाई तालिम दिन्छ । सक्षम बनाउन र नेतृत्वको रुपमा समाजमा पस्कन सहयोग गर्छ । जेसीजमार्फत् मानिस नेतृत्वका लागि सक्षम हुन्छ । जेसीजमा जानेको, बुझेको कुरा उसले समाजमा ल्याएर परिवर्तनको नेतृत्व गर्न सक्छ भन्ने हामीले समाजलाई बुझाएका छौँ ।

सवालः यहाँहरुको अधिवेशन पनि नजिकिँदै छ । हेटौंडा जेसीजको निर्वाचनलाई चासोको रुपमा हेरिएको छ । नयाँ नेतृत्व चयन हुने कुरा पनि छ । समग्रमा अधिवेशन र निर्वाचनलक्षित तयारी कसरी अगाडि बढिरहेको छ ?

जवाफः हामी अधिवेशनको संघारमा छौँ । अबको केही दिनपछि साधारण सभा र निर्वाचन हुँदैछ । साधारणसभा १३ गते र १४ गते निर्वाचन तालिका छ । निर्वाचन आयुक्तको जिम्मेवारी संस्थाको विधान बमोजिम प्रदान गरिसकिएको छ । सबै सदस्यज्यूहरु, पूर्व अध्यक्षज्यूहरुलगायत सम्बन्धित सबैलाई पत्राचारमार्फत् नै खबर गरिसकेका छौँ । मिडियामार्फत् पनि जानकारी गराएका छौँ । अधिवेशनको तयारी तीव्र पारेका छौँ । अब निर्वाचनको सन्दर्भमा, हाम्रो हिजो देखिकै संस्कार के हो भने, हामी सकेसम्म सहमतिको प्रयास गर्छौँ । एकदमै मिल्ने प्रयास गर्छौँ । नेतृत्व चयनको प्रक्रिया सहजताको साथ लैजान्छौँ । यदि नमिलेको खण्डमा लोकतन्त्रको सबैभन्दा अमूल्य सम्पत्ति निर्वाचन हो । बहुमतको निर्णय मान्छौँ । सकेसम्म सहमति गराउने र सहमति नजुटे निर्वाचनमा जानेर निर्वाचनको नतिजा आफु अनुकुल नहुँदा पनि सहजताका साथ हामी स्वीकार गर्छौँ । त्यो हाम्रो राम्रो संस्कार हो ।
अहिले निर्वाचनको लागि धेरै साथीहरु होमिइरहनुभएको छ । स्वभाविक रुपमै सबैले आफ्नो तयारी गर्ने कुरा रह्यो । त्यो तयारीमा मुख्यतः उम्मेदवार ४ जना योग्य हुनुहुन्छ संग्रामबल लामा, पंकजदास बानियाँ, विकेशलाल श्रेष्ठ रजेसी अमृत बर्तौला । ४ मध्ये अहिले हामीले सरसर्ती देख्दा विकेशलाल श्रेष्ठज्यू र अमृत बर्तौँलाज्यूको नेतृत्वमा बढी दावी छ । त्यसबाहेक धेरै साथीहरुको विभिन्न पदमा दावी छ । यो चाँही हाम्रो हिजो देखिकै संस्कार हो, सके मिल्ने नसके निर्वाचन गर्ने, आएको नतिजा स्वीकार गर्ने पक्षमा हामी छौँ ।

सवालः सहमतिको प्रयासचाँही के–के भएका छन् त ?

जवाफः सहमतिका लागि हामीले निरन्तर प्रयास गरिरहेका छौँ । विभिन्न मापदण्ड बनाउँछौँ । सिनियर भन्ने हुनसक्छ । उमेर अर्को मापदण्ड हुनसक्छ । अथवा यसपटक यसो गरौँ भन्ने हुनसक्छ । यी विभिन्न मापदण्डलाई आधार बनाएर सहमतिको प्रयासका लागि पनि छलफल गरिरहेका छौँ । त्यसमा पूर्व अध्यक्षज्यूहरुले पनि संस्थाप्रति चासो र चिन्ता व्यक्त गर्ने सकेसम्म सहमतिमा नै नेतृत्व चयन गर्नुपर्छ भन्नेमा केन्द्रीत भएर लाग्नुभएको छ ।

उम्मेदवारी दर्ता अघि र दर्ता पछि पनि तालिमसम्म हामी प्रयास गर्छौँ । तर, ककसमा गइसकेपछि चाँही सहमतिको संभावना अन्त्य हुन्छ ।
सवालः जेसीजमा एक व्यक्ति, एक पद र एक कार्यकाल भन्ने सुन्दर पक्ष छ । तपाईँ अब दोहोर्याएर शाखा अध्यक्ष बन्नुहुन्न ।

सवालः तपाईँको अनुभवमा अबको नेतृत्वले जेसीजलाई अझै परिस्कृत एवम् प्रभावकारी बनाउँदै समाजमा प्रभाव छाड्न कसरी काम गर्नुपर्ला ?

जवाफः जेसीजमा बैठक सञ्चालनको तालिम महत्वपूर्ण हुन्छ । हामी देख्छौँ, अन्य संस्थाको वा पार्टीको बैठकमा टेबुल ठोकिरहेका हुन्छन् । एकैपटक १० जनाले बोलिरहेका हुन्छन् । त्यहाँ कसले कस्कोे कुरा सुन्ने भन्ने दोधार हुन्छ । त्यो बैठक प्रणाली सञ्चालनको ज्ञान नभएकाले हो । ठूलो जिम्मेवारीमा पुगेका मानिसहरुले पनि हल्ला गर्ने, माइक भाँच्ने, टेबुल ठोक्नेजस्ता गतिविधि भइरहेको हामी देख्छौँ । तर, जेसीजमा अध्यक्षले फ्लोर दिइसकेपछि मात्रै अरु सदस्यहरुले बोल्न पाउँछन् । अध्यक्षले फ्लोर दिएपछि धन्यवाद अध्यक्षज्यू भनेर मर्यादापूर्वक बोल्नुपर्छ । अब आउने शाखा अध्यक्षले यस्ता तालिमहरु धेरै सञ्चालन गर्नुपर्छ । बैठक संचालन तालिम हामीले स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सहभागी गराएर गर्नुपर्छ ।

नेपाल जेसीजले माननीय सांसदज्यूहरुलाई यस्तो तालिम दिएको थियो । अब हामीले स्थानीय तहका जनप्रतिनिधिज्यूहरुलाई तालिम दिनुपर्छ । त्यस्तै उद्घोषणकला, भाषणकला, समय व्यवस्थापनसम्बन्धी तालिम दिनुपर्छ । समय व्यवस्थापनको सवालमा अन्य मुलुकहरुमा भइरहेका राम्रा अभ्यासलाई यहाँ प्रयोगमा ल्याउनुपर्छ । सामुदायिक क्षेत्रमा काम गर्नुपर्छ । समाजका सबै क्षेत्रसँग समन्वय गर्दै समाज सुधार गर्दै लैजानुपर्छ । फोहोर पानीलाई हामी एकै पटक घोप्ट्याएर समस्याको समाधान गर्न सक्दैनौँ । सफा पानी थप्दै जाऔँ । र, त्यसको नेतृत्व हामीले गर्नुपर्छ र मैले धेरै प्रयन्त गरेँ । आगामी नेतृत्वले अझै गर्नेछ भन्ने विश्वास लिएको छु ।

सवालः अन्त्यमा के भन्न चाहानुहुन्छ ?

जवाफः जेसीज १८ देखि ४० वर्षसम्मका युवाहरुको संस्था, एक व्यक्ति, एक पद एक कार्यकाल यसको मूल मन्त्र हो । कि शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । एउटै व्यक्ति एउटै संस्थामा एकैपटक वा पटक पटक बसेर लामो समयसम्म पद ओगटीरहने जुन संस्कार छ, त्यसलाई विस्तारै सुधार्न जेसीजको नेतृत्वमा सबैले हातेमालो गरौँ । यो सन्देश हामीले सिकाउन जरुरी छ ।

जेसीजमा महासचिव पद हुन्छ । शाखा सम्पादक भन्ने हुन्छ । कानूनी सल्लाहकार हुन्छ । विधान विपरितका काम हुन खोज्यो भने, कानूनी सल्लाहकारले जानकारी गराउनुहुन्छ । अध्यक्ष आफैँले १७ जनाको कार्यसमितिमा ९ जना मनोनित गर्न पाउँछ । बाँकी ७ जना मात्रै निर्वाचित व्यक्ति कार्यसमितिमा बस्नुहुन्छ । किनकी यो अध्यक्षात्मक संस्था हो । अध्यक्ष अल्पमतमा नपरोस् भन्ने मान्यता हुन्छ । यदि निर्वाचित सबै अध्यक्षको विपरित भए भनेपनि बहुमत चाँही अध्यक्षकै पक्षमा होस् काम गर्न सकोस् भनेर यसो गरिएको हो । यी कुराहरु अन्य संस्थामा पनि लागू गर्न सक्यौँ भने संस्थाले दिने नतिजा पक्कै बृद्धि हुन्छ । त्यसका लागि पहल गर्नुपर्छ । हामी समाजमै छौँ समाजको हितका लागि छौँ । मिडियामार्फत् मेरा कुराहरु राख्ने अवसर दिनुभयो धेरै धेरै धन्यवाद ।