‘स्वार्थ त्यागौँ, राजनीति आफैँ सुध्रिन्छ’

तु खबर संवाददाता
२०८० पुष २०,शुक्रबार १६:३०

गत शनिवार नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा उपमहानगर कमिटिको दोश्रो सम्मेलन भयो । उक्त सम्मेलनले मदन उप्रेतीको नेतृत्वमा ३९ सदस्यीय नयाँ कमिटी सर्वसम्मत रुपमा चयन गर्यो । वाइसियल हेटौंडा नगर कमिटीमा भर्खरै नेतृत्व सम्हालेका उप्रेतीसँग तु खबरले समसामयिक विषयमा आधारित रहेर कुराकानी गरेको छ । प्रस्तुत छ, उप्रेतीसँगको कुराकानीको सम्पादित अंश ।

सवालः तपाईंको नेतृत्वमा वाइसियलको हेटौंडा उपमहानगर कमिटी गठन भएको छ । यो जिम्मेवारीलाई कसरी लिनुभएको छ ?

जवाफः म नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन वाइसियलको हेटौंडा उपमहानगरको अध्यक्षको जिम्मेवारीमा पुग्दै गर्दा निकै खुसी भएको छु । जिम्मेवारीसँगै चुनौती थपिएको छ । मेरो मिहेनत र सक्रियतालाई पार्टी र वाइसियलका साथीहरुले सकारात्मक रुपमा लिनुभएको रहेछ भन्ने लाग्यो ।

सबैले मेरो मिहेनतको कदर गर्दै सर्वसम्मत रुपमा नेतृत्व सुम्पिन तयार हुनुभयो । सबैप्रति आभार व्यक्त गर्दै मैले पाएको जिम्वेवारीलाई पूरा गर्न म अहोरात्र लागिपर्ने छु । जिम्मेवारी पूरा गर्ने क्रममा पक्षपात गर्ने छैन । हाम्रोलाई भन्दा राम्रोलाई प्राथमिकता दिन्छु ।

सवालः यस अघिको नेतृत्वले पूरा गर्न नसकेका जिम्मेवारी तपाईँले कसरी पूरा गर्ने सोच बनाउनुभएको छ ? वाइसियलका गतिविधि अब कसरी अघ बढ्छन् ?

जवाफः यसअघि वाइसियलको नेतृत्व गर्नुभएका साथीहरुले पनि धेरै गर्नुभएको छ । सकेसम्म राम्रो गर्नुभएको छ, केही गर्न चाहेर पनि गर्न सक्नुभएको छैन । देशमा कोरोना संक्रमणको जोखिम, आर्थिक मन्दी लगायतका विभिन्न अवरोधको सामना हामीले अहिले पनि गरिरहेका छौँ । त्यसको असर यसअघि पनि पर्यो ।

म पुरानो कमिटीका राम्रा कामहरुलाई निरन्तरता दिँदै संगठनलाई मजबुद बनाउनेतर्फ केन्द्रीत हुनेछु । पार्टी र संगठनलाई अझै नजिक बनाउने प्रयास गर्छु । पार्टीलाई यहाँसम्म पुर्याउन योगदान गर्नुभएका शहिदहरुको परिवारलाई नजिकबाट हेर्न सकिरहेका छैनौँ, त्यसका विविध कारण हुनसक्छन् । तर, समस्या छ भनेर मात्रै हुँदैन अब हामी शहिद परिवारलाई राहत तथा प्रोत्साहन हुने केही काम गर्छौँ ।

त्यस्तै युवाहरुको हितका विभिन्न कार्यक्रमहरु अघि सार्नेछौँ । भर्खरै नेतृत्व पाएको छु । अब सबैको सल्लाह, सुझाव अनुसार सबैलाई समेटेर काम गर्नेछु ।

सवालः पार्टी र वाइसियलबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन तपाईँको भूमिका कस्तो रहन्छ ?

जवाफः नेकपा माओवादी केन्द्र र वाइसियलबीचको सम्बन्ध भनेको नङ र मासुको जस्तै हो । हामी पार्टीको हरेक कार्यक्रमहरुमा खम्बा जसरी उभिन्छौँ ।

जनहितका काममा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्छौँ । हाम्रा गतिविधि पनि पार्टीसँगको समन्वयमा मात्रै गर्नेछौँ । पार्टी र वाइसियलबीचको दुरी घटाउने प्रयास हाम्रो हुनेछ । हामी एकअर्का बीना अपुरो छौँ । त्यसकारण समन्वयको सवालमा हामी चुक्ने छैनौँ । अझै प्रगाढ सम्बन्ध बनाएर अघि बढ्छौँ ।

सवालः जनयुद्धका बेला मारिएका, घाइते तथा बेपत्ता भएकाहरुको परिवार होस् या आम समूदायमै पनि वाइसियलप्रति सकारात्मक धारणा विकास भएको छैन । अब जनतालाई वाइसियलको परिभाषा कसरी बुझाउनुहुन्छ ?

जवाफः तपाईँको प्रश्न एकदम ठिक हो । वाइसियलले आम जनतालाई आफ्नो परिभाषा बुझाउन सक्यो सकेन त्यो दास्रो पाटो रह्यो । तर, पहिलो कुरा चाँही के हो भने वाइसियल युवाहरुको झुण्ड होइन । वाइसियल भनेको निश्पक्षरुपमा देशद्रोही, राट्रघाती, भ्रष्टाचारीहरुको विरुद्धमा अवाज उठाउने र देश तथा जनताको पक्षमा सदैव उभिने सक्षम युवाहरुको समूह हो ।

हामी नराम्रो गर्नेलाई खबरदारी गर्छौँ । राम्रो गर्नेलाई साथ सहयोग गर्छौँ । अपराधिक गतिविधि हुन नदिन कदम चाल्छौँ । विभेदको विरुद्धमा बोल्छौँ । वाइसियलले विगतमा पनि केही नराम्रको काम गरेको जस्तो मलाई लाग्दैन ।

अब हामी वाइसियललाई ब्राण्ड बनाउँछौँ । जनतालाई वाइसियल अपरिहार्य छ भन्ने बनाएर देखाउँछौँ । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानीलगायत स्थानीय चासोको विषयमा अब वाइसियल बोल्नेछ । शासकहरुले जनताको चाहाना पूरा गरिरहेका छन् कि छैनन् हामी अनुगमन गर्ने छौँ । भ्रष्टाचार भइरहेको छ कि, कतै कोही दबिएका वा दबाइएका छन् कि, सक्नेले नसक्नेलाई हेपेको छ कि, हाम्रो ध्यान त्यतातर्फ केन्द्रीत हुनेछ ।

हामी कुनै पार्टी हेर्दैनौँ । माओवादी केन्द्रको मात्रै होइन, हामी सिंगो जनताको काम गर्न आएका हौँ । जनताको गाह्रो अप्ठेरो बुझेर जनताको घर दैलोमै रहेर सँधै सँगै रहनेछौँ ।

सवालः उतिबेला परिवर्तन गर्छौँ भनेर नेतृत्वमा पुगेकाहरुले आफ्नै जीवनशैली बाहेक जनताले अनुभूति गर्ने गरी केही परिवर्तन गर्न सकेनन् । तपाईँहरु समाज सुधार्छौँ भन्नुहुन्छ । तर, आफ्नै पार्टीभित्र पनि भ्रष्टिकरण छ नी ?

जवाफः पहिलो कुरा त सबैले आफ्नोतर्फबाट राम्रो गर्ने प्रयास गर्ने हो । हिजो कसले के भने, के गरे वा गरेनन् । यसको जस, अपजस उहाँहरुले पाइसक्नुभयो जस्तो लाग्छ । हामीमा पार्टीमा आवद्ध हुँदै गर्दा स्वार्थ राखेर वा पार्टीबाट यो पाउँछु, त्यो पाउँछु भनेर नलागौँ । यदि स्वार्थ राख्यौँ भने एउटा पार्टी मात्रै होइन सिंगो राजनीति नै कहिल्यै सु्ध्रिँदैन ।

निस्वार्थ रुपले देश र जनताको पक्षमा सेवा गर्ने भावना बोकेर हामी सबै लागौँ । पहिले आफु सच्चिँऔँ । अनि परिवार, गाउँ सभाज र देश सुधारौँ । अब वाइसियलले पार्टीमा आउने त्यस्ता प्रवृत्तिका मानिसहरुलाई कारबाही गर्न पार्टी नेतृत्वलाई खबरदारी गर्छ ।

व्यक्तिको गलत गतिविधिका कारण पनि पाटी बदनाम भइरहेको हुन्छ । अब त्यस्ता गतिविधि रोक्न हाम्रो प्रयास हुनेछ । आम जनताको पक्षमा सबै लागौँ । सबै मिले, सबै जुटे पक्कै परिवर्तन सम्भव छ ।

सवालः हामी अन्तरवार्ताको अन्तिम प्रश्नमा छौँ, अब तपाईँलाई भन्न मन लागेका कुराहरु केही छन् कि ?

जवाफः अन्त्यमा म के भन्न चाहन्छु भने मलाई सर्वसम्मत रुपमा स्थानसम्म ल्याउनुहुने आदरणीय नेतागण, पार्टीमा विभिन्न रुपमा सहयोग पुर्याइरहनुभएका व्यक्तिहरु, सुभेच्छु्क सबैप्रति आभार व्यक्त गर्न चाहान्छु । तपाईँहरुको भरोसालाई टुट्न दिनेछैन भन्न चाहान्छु । र, पार्टीको मूल सिद्धान्तबाट विचलित नभई लागेशक्ति आफ्नो कर्ममा जुट्ने बाचा गर्छु ।

अग्रजहरुसँग सल्लाह सुझाव लिँदै संगठनलाई अझै बलियो बनाउँदै सिक्दै सिकाउँदै अघि बढ्नेछु । जनचासोको विषयमा हामी जनतासँगै हुनेछौँ । विगतमा सडक विभागले पनि मिति नै तोकेर यही दिनमा भत्किन सुरु हुन्छ भनेर पत्रिकामा छपिसकेर पनि पछि हट्नुपर्ने बाध्यता कसरी बन्यो ? हामी तीनै तहका सरकारको ध्यानाकर्षण गराउन चाहान्छौँ । हामी सडक विभाग, तीनै तहका सरकार र अन्य सम्बन्धित सरोकारवाला निकायमा यस विषयमा जवाफ माग्नेछौँ । हामी विकासको पक्षमा छौँ । सडक विस्तार गर्नुपर्छ भन्ने पक्षमा छौँ ।

हामी सहयोग गर्न तयार छौँ । यस्तै अन्य जनचासोको विषयहरु, यहाँको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकास, रोजगारी, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा भइरहेका भ्रष्टिकरणको विपक्षमा हामी दह्रोसँग उभिने छौँ । समाज रुपान्तरणमा हामी हातेमालो गर्न तयार छौँ ।

तु खबर डटकमले सबैलाई समेटेर सबैखाले विचार बोक्ने मानिसहरुको धारणा बेलाबेलामा राखिरहेको हुन्छ । निश्पक्ष र सन्तुलित समाचारहरु आइरहेका हुन्छन् । म नियमित पाठक पनि हुँ । यसैक्रममा आज मैले पनि कुराहरु राख्ने अवसर पाएँ । म धन्यवाद दिन चाहान्छु ।