मानवसेवा आश्रमद्वारा मकवानपुरगढी जेसीजलाई स्वागत सम्मान

तु खबर संवाददाता
२०८० पुष २३,सोमबार ११:३२

मकवानपुर । मानवसेवा आश्रम हेटौंडाले मकवानपुरगढी जेसीज वर्ष सन् २०२४ को नवनिर्वाचित कार्यसमितिलाई स्वागत सम्मान गरेको छ ।

आइतबार साँझ जेसीजका अध्यक्ष विजय पुडासैनीसहित सिङ्गो कार्यसमितिलाई आश्रमले माला लगाएर स्वागत सम्मान गरेको हो ।

सो अवसरमा अध्यक्ष पुडासैनीले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भन्दै आश्रम र आश्रममा आश्रितहरुको हितको सन्दर्भमा मकवानपुरगढी जेसीज आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

उनले विगतमा विभिन्न संघ संस्थाको नेतृत्व गर्दा र सञ्चो अस्पतालको अध्यक्ष हुँदा आश्रमलाई सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।

‘मानव सेवा आश्रमको ठूलो योगदानका कारण सडक मानवहरुले आश्रय पाउनुभएको छ । म यो आश्रमलाई यहाँसम्म ल्याउन प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहान्छु ।’ उनले भने ।

सो अवसरमा जेसीजको टोलीले आश्रममा आश्रितहरुलाई आफ्नै हातले खाना खुवाएको थियो ।