१५ लाख रुपैयाँ घुससहित वडाध्यक्ष बादे पक्राउ

तु खबर संवाददाता
२०८० माघ ४,बिहीबार १०:०३

काठमाडौँ । घुस लिएको आरोपमा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर– ९ का वडाध्यक्ष नृपेश बादे पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको उनले बताए ।

१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

बादे नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेविसंघ काभ्रेका पूर्वअध्यक्षसमेत हुन् । कार चालक प्रधान सिन्धुपाल्चोक बाह्रबिसेका हुन् ।