हेटौंडा सिमेन्टको उत्पादन माघ तेस्रो सातादेखि सुरु हुने

तु खबर संवाददाता
२०८० माघ ४,बिहीबार १६:३३
file-photo

मकवानपुर । करिब तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले यही माघ तेस्रो साताबाट उत्पादन सुरु हुने भएको छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको उक्त सिमेन्ट उद्योग कोइला आपूर्तिमा समस्या आएपछि बन्द भएको थियो ।

उद्योग व्यवस्थापनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष सरकारको तर्फबाट केही अनुदान उपलब्ध गराउन अनुरोध गरेको र अनुदान उपलब्ध भएमा यही मागको तेस्रो साताबाट उत्पादन सुरु गर्ने सो उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए ।

उद्योगलाई हाल नियमित उत्पादन सुरु गर्न करिब ३ हजार मेट्रिक टन कोइला आवश्यक पर्ने र सो कोइलाले १ महिनासम्म सिमेन्ट उत्पादन गर्न सकिने उद्योगका नायव महाप्रबन्धक नविन कुमार कर्णले जानकारी दिए ।

अहिले सो उद्योगको भण्डारणमा करिब ६०० मेट्रिक टन मात्रै कोइला रहेकाले उत्पादन सुरु नगरिकएको जनाइएको छ ।