पूर्व राजा ज्ञानेन्द्र शाह आज हेटौंडा आउँदै

तु खबर संवाददाता
२०८० माघ ७,आईतवार ०८:१३
तस्वीरः पूर्व राजा आउने विषयमा केही दिन अघि आयोजना गरिएको पत्रकार सम्मेलन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज पूर्व राजा ज्ञानेन्द्र शाहले सम्बोधन गर्ने भएका छन् ।

धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आरधानाका लागि हेटौंडा आउन लागेका उनले शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाट गरी सम्बोधन गर्ने जनाइएको छ ।
पूर्व राजा ज्ञानेन्द्र आज दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा आउने आयोजक मूल समारोह समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य दिपकबहादुर सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार सोही दिन दिउँसो १२ः३० मा हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पुजाआराधना, २ः३० बजे हेटौंडा–१० स्थित भूटनदेवी मन्दिरमा पूजा आराधनासहित शुभेच्छुक भेटघाट र ४ः३० मा हेटौंडा रिसोर्टमा खेलप्रमी, बुद्धिजिवी, व्यवसायीहरुलगायतसँग भेटघाट गरी सोहि दिन हेटौंडाबाट फर्किने कार्यतालिका रहेको छ ।

कार्यक्रममा पार्टिको नभई नेपालको राष्ट्रिय झण्डा बोकिने उनले बताए । ‘हामीले पूर्व राजा ज्ञानेन्द्रलाई अभिभावक मानेका छौं । देशैभर जनतासँग उहाँको प्रत्यक्ष भेटघाट कार्यक्रम भइरहेको बेला मकवानपुरमा पनि उत्साहजनक रुपमा कार्यक्रम सम्पन्न हुनेमा हामी विश्वस्त छौं।’ सिहंले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका प्रवक्ता आयुष डोटेलका अनुसार आज हुने कार्यक्रमको लागि १ हजार १ सय ११ जनाको मुल समारोह समिति तथा १० वटा उपसमितिहरु गठन गरिएको छ ।