कवि अमृतको एकल कविता वाचन तथा पुस्तक विमर्श

तु खबर संवाददाता
२०८० माघ ७,आईतवार ०९:४४

मकवानपुर ।  ‘समाजलाई तिम्रो खाँचो छ’ भन्ने मूल भावका साथ स्थापित फर्क अभियानद्वारा आयोजित कार्यक्रममा पोखरेली कवि अमृत क्षेत्रीका एक दर्जन कविताहरू सुनिएका छन् ।

“हामी बाहिरी भौतिक चिजमा बढी नै अल्मलिएका छौँ । अब आफूभित्र फर्कौँ“ भन्ने विचारका साथ  “अल्मलिएर हुन्नँ, अब आफूभित्र फर्कौँ“ भन्दै कवि अमृतले अभियानकेन्द्रित पहिलो कविता ’फर्क कोही पर्खिरहेछ’ सुनाए । यसका साथै उनले मान्छे खोजिरहेको ’क्यानभास’, ’सहरमा’, ’मेरो हजुर’, ’निराकार’ लगायत दुई सत्रमा एक दर्जन कविता वाचन गरे ।

फर्क अभियानले आफ्नो पहिलो श्रृङ्खलास्वरूप अभियानका सदस्य क्षेत्रीको कविता वाचन गरिएको हो । कार्यक्रममा वक्ता निमेष निखिलले कवि क्षेत्रीको शान्त स्वभाव र आध्यात्मिक ज्ञानबाट प्रेरित भएका र दार्शनिक भावका कविता लेखनमा अब्बल रहेको बताए । साथै उनले कार्यरत अवस्थामा लेखिएका कविताका साथै पहिलो पुस्तक ’एकान्त भीड’ का कविता र नयाँ कविताहरूले क्षेत्री कवितामा मात्रै नभई निबन्ध लेखनमा समेत कविता झैँ उच्चकोटीको लेखन गर्ने क्षमता राख्ने बलशाली लेखक भएको बताए ।

प्रकाशित दोस्रो पुस्तक ’यादको कोलाज’ माथि चर्चा गर्दै निखिलले पाठकको रोजाईमा हुनुपर्ने पुस्तकमध्ये सो पुस्तक छुट्न नहुने जानकारी दिए ।

नकारात्मकताबाट सकारात्मकतातर्फ, बाटो बिराइएकाबाट लय पकड्न, देश, माटो, प्रकृतिलाई सम्मान गर्दै उचित स्याहार र समाजलाई युगिन परिवर्तनतर्फ फर्काउने अभियानस्वरूप सङ्गठित युवाहरूको समूह नै फर्क अभियान हो । शुक्रबार बिर्तामोडमा चन्द्र गुरूङ र प्रकाश थाम्सुहाङसाथ ’रिडर्स मीट’ कार्यक्रममा सरिक भई हेटौँडा आएका कवि अमृत फर्क अभियानका एक सदस्य हुन् ।

यस अभियानमा पोखरेली स्रष्टाहरू कवि अमृत, मुक्तककार अमृता पोखरेल, बाराका कवि रमेश रसिक, मकवानपुरका सर्जकहरू बैकुण्ठ लामिछाने, मसान उपासक, सागर तिमल्सिना, सानु खनाल, स्वस्तिका बानियाँ, अजर फुयाँल, सुबास सजल, अमृता लामिछाने र संप्रस पौडेल सहभागी छन् ।

बाह्र जना श्रष्टाहरू समावेश यस समूहले साहित्य लेखनबाट आफ्ना उद्देश्यहरू पूरा गर्नमा कटिबद्ध हुने कार्यक्रम सञ्चालक तथा अर्का सदस्य मसान उपासकले अभियानकेन्द्रित गजल वाचनका साथ जानकारी दिए ।