पूर्व राजाले गरे चुरियामाई र ज्याङ्छुपलिङ पोताला गुम्बामा पुजाअर्चना
मकवानपुर । पूर्व राज्ञा ज्ञानेन्द्र शाहले आज बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर र हेटौंडा– १३ पदमपोखरीमा रहेको ज्याङ्छुपलिङ पोताला गुम्बामा पुजाअर्चना गरेका छन् ।
उनले दिउँसो १ बजे चुरियामाई मन्दिरमा हिन्दु परम्परा अनुसार र दिउँसो २ः४५ बजे ज्याङ्छुपलिङ पोताला गुम्बामा बौद्ध परम्परा अनुसार पुजाअर्चना गरेका हुन् ।
पूर्व राजासँगै पूर्व रानी कोमल राज्यलक्ष्मी शाह र पूर्व राजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले पनि आज दुवै धार्मिकस्थलको दर्शन गरी पुजाअर्चना गरेका छन् ।
राप्रपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह, राप्रपाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु, उद्योगपति तथा व्यापारी एवम् हजारौँको संख्यामा रहेका सर्वसाधारणहरुले पूर्व राजा रानीको स्वागत गरेका छन् ।
पूर्व राजाको स्वागतका लागि पुगेका राप्रपा र राप्रपा नेपालका कार्यकर्ताहरुले नेपालको झण्डा बोकेका थिए । पूर्व राजा ज्ञानेन्द्रले आजै साँझ हेटौंडा रिसोर्टमा सुभचिन्तकहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।