लाइसेन्स छपाइको जिम्मा प्रदेशलाई दिने तयारी
काठमाडौं । संघीय सरकारले लाइसेन्स छपाइको जिम्मा प्रदेश सरकारलाई दिने तयारी गरेको छ ।
आइतबार संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रादेशिक यातायात क्षेत्र हेर्ने सम्बन्धित मन्त्रालयहरुको सिंहदरबारमा बसेको उच्चस्तरीय समन्वय बैठकमा बोल्दै मन्त्री प्रकाश ज्वालाले सो कुरा बताए ।
हाल लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षासहित सवारी दर्ता तथा नवीकरणको अधिकार प्रदेशस्तरिय यातायात कार्यालयहरुलाई दिएपनि लाइसेन्स छपाई संघीय यातायात व्यवस्था विभागले नै गर्दै आएको छ ।
मन्त्री ज्वालाले सातै प्रदेशबाट लाइसेन्स छपाइको चाप केन्द्रमा पर्ने र समयमा नै स्मार्ट कार्ड र छपाई मेसिन उपलब्ध नहुँदा लाइसेन्स छपाइमा समस्या परिरहेको उल्लेख गरे ।
उनका अनुसार, हाल १४ लाख लाइसेन्स छपाई पेन्डिङमा रहेको छ । तीमध्ये ६ लाख स्मार्ट कार्ड छपाई भइसकेको र ६ लाख कार्ड तत्काल छपाइको चरणमा रहेको छ ।