मकवानपुरगढीमा विजय उत्सव मनाइयो
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ मा बुुधबार २६१ औं विजय उत्सव मनाइएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा एक कार्यक्रमबीच ऐतिहासिक मकवानपुरगढीको विजय उत्सव मनाइएको हो ।
कार्यक्रम मकवानपुरगढी वडा नम्बर २ का वडाध्यक्ष बखान सिं पाख्रीनको अध्यक्षतामा एवम् बागमती प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा नेता बानियाँले मकवानपुरगढी दरवार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा पहिलो एकीकरण मकवानपुरबाट सुरु गरेको इतिहास रहेको स्मरण गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, प्रदेशका पूर्व स्वास्थ्य मन्त्री नीमा लामा, गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, मध्यपृतना हेटौंडाका उपरथि प्रदीप जंग केसी, गोरख बहादुर गणका गणपति प्रमुख सेनानी निरन्जन धामी, मकवानपुरगढी पर्यटन विकास समितिका अध्यक्ष वकीलराज बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।