लोकतन्त्रवादी चेपाङ संघको अध्यक्षमा मकवानपुरका सन्तबहादुर

मकवानपुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी चेपाङ संघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मकवानपुरका सन्तबहादुर चेपाङ मनोनित भएका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सोमबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले चेपाङलाई केन्द्रीय तदर्थ समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।
महासंघको विधान २०७९ को परिच्छेद २ को धारा ४ को उपधारा (क) बमोजिम लोकतन्त्रवादी चेपाङ संघको तदर्थ समिति गठन गरिएको हो । चेपाङ बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत हुन् ।
अध्यक्षमा मनोनित भएसँगै अध्यक्ष चेपाङले केन्द्रीय कार्यसमितिका पदाधिकारी र प्रदेश अध्यक्षसमेत मनोनयन गरेका छन् ।
मनोनित हुनेमा वरिष्ठ उपाध्यक्षमा चितवनका अर्जुन चेपाङ, उपाध्यक्षमा दिल्लीराज चेपाङ महासचिवमा धादिङका सुरेन्द्र चेपाङ, सचिवमा रबिन्द्रकुमार चेपाङ, कोषाध्यक्षमा धादिङका बिष्णुमाया चेपाङ र बागमती प्रदेश सभापतिमा खेमबहादुर चेपाङ रहेका छन् ।