मनहरी ५ मा निःशुल्क स्वास्थ्य परीक्षण
![](https://www.tukhabar.com/wp-content/uploads/2024/02/manahri-5-e1707016111467.jpg)
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ५ मा शनिबार १४१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण भएको छ ।
रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा रेडियोको सन्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत उक्त शिविरको आयोजना गरिएको हो ।
मनहरी गाउँपालिका ५ नम्बर वडाको सहकार्य एवम् मकवानपुर सहकारी अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको हो । शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो ।
रेडियो मकवानपुर सन्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलो अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।
स्वास्थ्य शिविरका लागि मनहरी गाउँपालिकालाई छनौट गरेकोमा रेडियो मकवानपुरलाई धन्यवाद ज्ञापन गर्दै प्रमुख अतिथि कालाखेतीले गाउँपालिकाले गरिब विपन्नको निशुल्क स्वास्थ्य वीमालाई निरन्तरता दिइरहेको बताए ।
घरघर पुगेर भिलेज प्रोफाइल बनाएको र त्यसैमार्फत अनुदान, सहयोग लगायतका कार्यक्रम सन्चालन भैरहेको उनको भनाई थियो । भिलेज प्रोफाइलको सहायताले अब वास्तविक गरिब बिपन्नले मात्र अनुदान प्राप्त गर्ने कालाखेतीको दावी थियो ।
मनहरी गाउँपालिका ५ नम्बर वडाका कार्यबाहक अध्यक्ष संजिता परियारले रेडियो मकवानपुरसँगको सहकार्यमा वडामा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सन्चालन गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
कार्यक्रममा वडा सदस्य सरला थापा र बुद्धिबहादुर स्याङ्तान, वडा सचिव बिदुर पाठक, रेडियो मकवानपुर सन्चालक समिति सदस्य यतिराज सापकोटा, दिव्यतारा सहकारीका सहव्यवस्थापक इश्वरी शिल्पाकार, सहकारी अस्पतालका डा. विजय शाह कानु र डा. अबिनेश यादव, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि जनकराज उप्रेती, टोल विकास संस्थाका अध्यक्ष गजाधर सुवेदी लगायतको आतिथ्यता थियो ।
रेडियोको वार्षिकोत्सव अन्तर्गत आज आइतबार बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला हुनेछ भने सोमबार सप्ताहव्यापी कार्यक्रमको समापन एवम् सामुदायिक सम्मान कार्यक्रम हुने रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।