वाईबा तामाङ समाज मकवानपुरद्वारा शुभकामना आदानप्रदान

तु खबर संवाददाता
२०८० माघ २१,आईतवार ०९:१८

मकवानपुर । वाईबा तामाङ समाज मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । मञ्जुश्री सम्वत २८६० सोनाम ल्होछार, डुक (मु) ल्हो, आकाश वर्गको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता एवम् समाजका अध्यक्ष हर्क सिं वाईबाको अध्यक्षतामा भएको हो ।

सो क्रममा बोल्दै प्रमुख अतिथि घलानले सोनाम ल्होछार पर्वलाई सामुहिक रुपमा मात्र नभई हरेक तामाङ परिवारले घरघरमा मनाउने वातावरण निर्माण हुनुपर्ने बताए । विभिन्न क्षेत्रमा हुने ल्होछार विशेष साँस्कृतिक कार्यक्रमहरुसँगै हरेक तामाङ घरमा ल्होछार मनाउने वातावरण निर्माण हुनुपर्नेमा उनले जोड दिए ।

हाल देशमा व्यवस्था परिवर्तनसँगै हरेक समुदायका नागरिक समान अधिकार प्राप्तितर्फ अघि बढिरहेको भन्दै उनले बागमती प्रदेशमा नेवा र तामाङ भाषाले सरकारी मान्यता प्राप्त गरेको उल्लेख गरे । समुदायगत दृष्टिले पनि समाजका विभिन्न क्षेत्रमा अगुवाई गर्ने तहमा पुग्ने तयारीमा लाग्नुपर्ने उनले सुझाव व्यक्त गरे ।

यस्तै, आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङले जनजाति समुदायले विगत लामो समयदेखि पहिचानसहितको प्रदेशको नामाङ्कन माग गर्दै आइरहेको उल्लेख गरे । हाल पहिचानसहितको प्रदेश प्राप्त नभएपनि जनजाति समुदायका संघसंस्थाले गर्ने हरेक गतिविधी एवम् कार्यक्रमहरुमा पहिचानसहितको प्रदेशको नामाङ्कनलाई प्रचारात्मक अभिलेखिकरण गर्दै अघि बढ्नुपर्नेमा अध्यक्ष गुरुङले सुझाव व्यक्त गरे ।

यसैगरी, कार्यक्रममा बोल्दै नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलानले हरेक समुदाय आफ्नो भाषा, कला, संस्कृतिको संरक्षण, प्रर्वद्धन र विकासमा लाग्नुपर्ने बताए । घेदुङले यस विषयमा विगत लामो समयदेखि आफ्नो भूमिका निर्वाह गर्दै आइरहेको उनले उल्लेख गरे ।

यस्तै, कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी मकवानपुरका अध्यक्ष विकास वाईबा, नेपाल तामाङ घेदुङ मकवानपुरका उपाध्यक्ष आत्मराम मोक्तान, सचिव किरण बल, नेपाल तामाङ घेदुङ हेटौंडा उपमहानगर कमिटि उपाध्यक्ष मोतीलाल लामासहितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।