चण्डिका माविलाई नमूना विद्यालयको रुपमा स्थापित गराउँछौँः अध्यक्ष गोले

तु खबर संवाददाता
२०८० माघ २१,आईतवार १७:४७

सवालः श्री चण्डिका माविको दोस्रो कार्यकाल नेतृत्व गर्ने अवसर पाउनुभएको छ, विद्यालयको समग्र हितको लागि के–कस्ता काम भइरहेका छन् ?

जवाफः यस विद्यालयमा एक कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर नेतृत्व गरेँ । सबैको सल्लाह बमोजिम पुनः विद्यालयको नेतृत्व गर्ने मौका पाएँ । मलाई विश्वास गरेर नेतृत्व सुम्पिने सबैप्रति आभार व्यक्त गर्दछु । पहिलो कार्यकालमा स्कुलमा भौतिक सुधारको उल्लेख्य काम गरेका छौँ ।

भवन र सडक पूर्वाधारको लागि पहल गर्यौँ । चौर निर्माणलगायत अन्य कामहरु भएका छन् । यसै क्रममा मेरो कार्यकालमा बागमती प्रदेश सामाजिक मन्त्रालयबाट स्कुल बस हाल्न सफल भएका छौँ ।

सरकारी स्कुलमा पनि स्कुल बस भएपछि विद्यार्थी र अभिभावकहरु उत्साहित हुनुभएको छ । टाढादेखि आउने विद्यार्थीलाई सहज भएको छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु पढाइबाट बञ्चित हुनु परेको छैन । विद्यालय बस सञ्चालन गरेदेखि बालबालिकाहरुलाई सरकारी स्कुलप्रतिको रुची बढेको छ ।

मेरो चाहाना पनि समुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, बालबालिकाको उपस्थितिलाई बढाउने, अध्ययन अध्यापनको कार्यलाई प्रभावकारी बनाउँदै लैजाने हो । अबको कार्यकालमा म सोही चाहाना पूरा गर्ने प्रयास गर्नेछु ।

हामीले नीजि विद्यालयलाई भन्दापनि सामूदायिक विद्यालयको अवस्था सुधार गरी सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकहरुको रुची बढाउने बातावरण बनाउँदै लैजानुपर्छ । हामी त्यही अभियानमा निरन्तर लागिरहेका छौँ ।

सवालः विद्यालय बसको कुरा गर्नुभयो, त्यसको प्रभावकारिता कस्तो पाउनुभयो त ?

जवाफः हो, हामीले विद्यालय बस सञ्चालन गरेका छौँ । हामीसँग बस पर्याप्त छैन । हामी अझै बस संख्या थप्ने प्रयास गरिरहेका छौँ । बस सञ्चालन गर्न केही चुनौती पनि छ । किनभने विद्यार्थीहरुले आर्थिक अवस्थाका कारण समयमा फि नतिर्ने अवस्था छ । बस चलाउन चालकलाई तलब दिनुपर्ने र डिजेल हल्नुपर्ने हुन्छ, त्यसो हुँदा केही चुनौती पक्कै छ । तर, हामीले जसोतसो व्यवस्थापन मिलाइरहेका छौँ ।

बसको प्रभावकारिता निकै देखिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ मा सञ्चालनमा रहेको यस चण्डिका माविमा बकैया गाउँपालिकाको वडा नम्वर ११ र १२ का बालबालिकाहरु पनि पढ्न आइरहनुभएको छ । त्यस्तै मकवानपुरगढी ३ र २ भित्रका पनि टाढा– टाढाका भाइबहिनीहरु पनि बस सञ्चालन भएकै कारण नियमित विद्यालय आउने वातावरण बनेको छ ।

सवालः लामो समयदेखि शैक्षिक क्षेत्रसँग आवद्ध भएर काम गरिरहनुभएको छ, तपाईँको अनुभवमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै समग्र शैक्षिक सुधारका लागि के गर्नुपर्ला ?

जवाफः मैले पनि इन्टरसम्मको मात्रै अध्ययन पूरा गरेको छु । विभिन्न कारणले अध्ययनमा ब्रेक लागेपनि पढ्नुपर्छ, केही गर्नुपर्छ भन्ने चाहाना अझै छ । म आफैँ अध्ययन गरेको विद्यालय, आफैँ हुर्केको ठाउँको विद्यालय भएकाले चण्डिका माविको हितका सन्दर्भमा मलाई चासो चिन्ता भइरहन्छ । त्यसमाथि अहिले पाएको जिम्मेवारीले मलाई काम गर्न हौसला मिलेको छ । म केही परिवर्तन गरौँ, केही राम्रो गरौँ भन्नेमा छु ।

तपाईँले भन्नुभयो समग्र शैक्षिक हितको लागि हामीले अध्ययन अध्यापनको सन्दर्भमा कुनै कन्जुस्याईँ नगरी अगाडि बढ्नुपर्छ । बालबालिकाहरुको नियमित उपस्थितिको लागि जोड दिनुपर्छ । उनीहरुलाई विद्यालय आउँ आउँ लाग्ने वातावरण बनाउनुपर्छ । साथै अतिरिक्त कृयाकपालहरु सञ्चालन गर्नुपर्छ ।

नीजि विद्यालयले जस्तै हामी पनि राम्रो नतिजा ल्याउँछौँ भन्ने भावना सामुदायिक विद्यालयमा हुनुपर्छ । सामूदायिक विद्यालयहरुले अब नीजि विद्यालयसँग नतिजाको सवालमा प्रतिस्पर्धाको भावना विकास गर्नुपर्छ ।

शिक्षा जस्तो पवित्र कामको लागि समय खर्च गर्न पाउनु हाम्रो लागि खुसीको कुरा हो भन्ने भावना शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलगायत सबैले विकास गरी नियमित योगदान पुर्याउनुपर्छ । बालबालिकाहरुलाई पाठ्यसामग्री समयमा नै उपलब्ध गराउनुपर्छ । त्यसका लागि राज्यले शिक्षा क्षेत्रलाई माया गर्नुपर्छ । विशेषगरी स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ ।

हामीले बालबालिकाहरुलाई विद्यालय आउन हौसला दिइरहेका छौँ । अध्यापनमा सुधार ल्याउन शिक्षकहरुलाई पनि घचघचाइरहेका छौँ । अभिभावकहरुसँग बालबालिकाको विषयमा जानकारी लिने, उहाँहरुसँग विद्यालय सुधारको विषयमा अन्तरक्रिया गर्ने कार्यहरु भइरहेका छन् । स्टाफ मिटिङ पनि भइरहेको छ ।

सवालः आगामी योजना के–के छन् ?

जवाफः आगामी दिनमा हामी विद्यालयको भवन निर्माणको लागि पहल गर्छौँ । केही मर्मत संहारका कामहरु पनि बाँकी छन् । अब हामी २२ ,२३ कोठे भवन बनाउने प्रयास गरिरहेका छौँ ।

यस विद्यालयमा कक्षा १२ सम्म मात्र होइन माथिल्लो कक्षा र विभिन्न विषयहरु अध्यापन गराउने हाम्रो योजना छ । बालबालिकाहरुलाई नियमित विद्यालय आउने वातावरण बनाउँछौँ । विद्यालय बस थप्न लागिपरका छौँ । अतिरिक्त कृयाकलापहरुलाई अझै प्रभावकारी बनाउँदै लैजान्छौँ । अभिभावकहरुका बीचमा निरन्तर पुगेर बालबालिकाहरुको अवस्था बुझ्छौँ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विज्ञसँग परामर्श गरेर विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्दै लैजाने हाम्रो आगामी योजना छ ।

सवालः तपाईँले थुप्रै योजनाहरु त सुनाउनुभयो । तर, राजनीतिसँगै व्यापार व्यवसाय र समाजसेवामा पनि तपाईँको आवद्धता छ । अहिले भनेजस्तै गर्नको लागि समय व्यवस्थापन गर्न सक्नुहुन्छ ?

जवाफः पक्कै पनि केही गर्न चुनौतीको सामना त गर्नैपर्ने हुन्छ । म १ देखि १० कक्षासम्म अध्ययन गरेको विद्यालय भएकाले मलाई यो विद्यालयको निकै माया लाग्छ । त्यसमाथि तपाईँ युवा, नेतृत्व गर्न सक्ने सक्षम व्यक्ति भनेर सबैले मलाई जुन जिम्मेवारी दिनुभएको छ, त्यसबाट म पन्छिने कुरै हुँदैन । बरु, म झनै उत्साहित भएर विद्यालयको हितको लागि लाग्नेछु ।

तलाईँले भन्नुभयो, राजनीति, व्यापार व्यवसाय, समाजसेवा सबैमा आवद्ध मान्छेले कसरी समय दिनुहुन्छ, भनेर । तर, राजनीतिक आवद्धताकै कारण विद्यालयको हितका लागि बजेट ल्याउन सहज भएको छ । हरेर कुराको सकारात्मक र नकारात्मक असर हुन्छ । मलाई सबै आवद्धताहरुले नेतृत्व क्षमताको विकाससँगै केही गर्ने हुटहुटी थपिदिएको छ ।

व्यवसायिक साथीभाईहरुलाई पहल गरेर आर्थिक रुपमा कमजोर बालबालिकाहरुलाई पाठ्य सामग्री, न्यानो कपडा, विद्यालय पोशाक वितरण गरेका छौँ । त्यसकारण यी अन्य आवद्धताहरुले समय व्यवस्थापनमा समस्या हुने होइन, मैले त झन सहज भएको अनुभूति गरेको छु । विद्यालयको हितका लागि समय नदिने त कुरै भएन । अहोरात्र लागि रहनेछु ।

सवालः अन्त्यमा के भन्नुहुन्छ ?

जवाफः मेरो चाहाना वा उद्देश्य जे भनेपनि एउटै विषय भनेको चण्डिका माविलाई भवन संरचनाको हिसाबले, शैक्षिक गुणस्तरको हिसाबले, बालबालिकाको उपस्थितिको हिसाबले र नजिताको हिसाबले मात्रै नभई समग्र सामूदायिक विद्यालयको हकमा नमूना विद्यालयको रुपमा स्थापित गराउने हो । नीजि विद्यालयसँग प्रतिस्पर्धा गर्ने सक्ने विद्यालय बनाउने हाम्रो अठोट छ ।

हामी चाँडै २२/२३ कोठे भवन बनाउने प्रयासमा छौँ । अन्य धेरै कुराहरु त माथि मैले भनिसकेकै छु । एउटै कुरा आम विद्यार्थी अभिभावकहरुले विश्वास गरेर जुन जिम्मेवारी सुम्पिनु भएको छ, उहाँहरुको विश्वास डगमगाउन दिने छैन । विद्यालय मैले एक्लैले बनाएर बन्दैन । तपाईँहरु सबैको साथ सहयोगको आवश्यकता रहन्छ । सबैको सहयोग पाउँछु भन्ने विश्वास पनि छ । मेरो कुरा राख्ने अवसर दिनुभयो, तु खबर डटकमप्रति आभार प्रकट गर्दछु ।