हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पुनः सुरु

तु खबर संवाददाता
२०८० माघ २३,मंगलवार ०९:२६
file-photo

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगको उत्पादन कार्य पुनः सुरु गरिएको छ । करिब साढे ३ महिनादेखि बन्द रहेको उक्त उद्योगको उत्पादन कार्य सोमबारबाट पुनः सुरु गरिएको सो उद्योगका नायब महाप्रबन्धक नविनकुमार कर्णले जानकारी दिए ।

सिमेन्ट उत्पादनको लागि आवश्यक पर्ने कच्चापदार्थ कोइलाको अभावका कारण बन्द रहेको उत्पादन कार्य पुनः सुरु गरिएको उद्योगकका नायब महाप्रबन्धक कर्णले बताए ।

उनका अनुसार, उद्योग व्यवस्थापनले हालै बोलपत्र आव्हान गरिएको र वैकल्पिक उपायको अवलम्बन गरी हाल दुई चरणमा करिब एक हजार आठ समय मेट्रिकटन कोइला ल्याइ सकिएको छ । साथै उनले अर्को चरणमा थप कोइलाहरु ल्याइने प्रक्रिया सुरु भइसकेको बताए ।

उनले कोइला ल्याउने ढुवानीकर्तासँग उद्योग व्यवस्थापनले वैकिल्पक उपाय अवलम्बन गरी आपसी समझदारीको आधारमा थप कोइलाहरु अहिले उधारोमा ल्याइरहेको पनि स्पष्ट पारे ।

हेटौंडाको लामसुरेमा वि.सं. २०३३ सालमा तत्कालिन श्री ५ को सरकारले स्थापना गरेको उक्त उद्योगले वि.सं. २०४३ मंसिर २६ गतेबाट व्यवसायिक रुपमा सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

हेटौंडा, काठमाडौं, विराटनगरलागयत विभिन्न शहरहरुमा सिमेन्ट खपत हुँदै आएको उक्त उद्योग पछिल्लो समय कोइलाको अभाव, विद्युतीय जडान र विभिन्न प्राविधिक समस्या आएको भन्दै पटक–पटक बन्द हुँदै आएको छ ।

उक्त उद्योगमा हाल प्रशासन, प्राविधिक र मजदुरहरु गरी १५० जनाले प्रत्यक्ष रुपमा रोजगारीका अवसरहरु प्राप्त गरिरहेका महाप्रबन्धक कर्णले जानकारी दिए ।