‘गर्छ, साहित्यमा मकवानपुरले गर्छ’

सञ्जय साह मित्र
२०८० माघ २९,सोमबार १७:२९

“सहित शब्द र अर्थ काव्य हो, न शब्द मात्र काव्य न त अर्थ मात्र, यिनीहरुको सहभाव नै काव्य हो ।–शब्दार्थौ सहितौ काव्यम्)” इसाको छैटौँ शताब्दीमा काव्यालङ्कार भन्ने पुस्तकमा भामहले दिएको यो परिभाषालाई साहित्यको पहिलो औपचारिक परिभाषा मानिन्छ ।

यसमा काव्य भन्नु चाहिँ साहित्य हो किनभने त्यस युगमा साहित्य शब्दको प्रचलन थिएन र काव्य शब्दलाई साहित्यकै अर्थमा गरिन्थ्यो भन्ने तर्क दिइन्छ । यद्यपी यस परिभाषाको प्रारम्भमा ‘सहित’ शब्दको प्रयोग गरिएको छ । ‘सहित’ पनि ‘साहित्य’ हो भन्ने पनि छन् र ‘सहित’ को अर्थ ‘हितमा आफ्नो हित अर्थात् कल्याण निहित हुन्छ’ भनी अर्थ्याउन पनि छन् ।

काव्यभन्दा पनि पहिले समग्र साहित्यलाई ‘नाटक’ मान्ने वा ‘नाटक’ लाई ‘साहित्य’ मान्ने पनि छन् । आचार्य भामहभन्दा निकै शताब्दी पहिले आचार्य भरतमुनिले आफ्नो पुस्तक ‘नाट्यशास्त्रम्’मा नाटकसम्बन्धी व्याख्या गरेका छन् । यसै कृतिमा ‘नाटक’को बारेमा दिइएको व्याख्यानलाई अहिलेसम्म ‘साहित्य’को बारेमा गरिएको चर्चा मानिँदै आएको छ । आदि आचार्य भरतमुनिको श्लोक यस्तो छ :

“मृदुललितपदाढ्यं गूढशब्दार्थहीनम्, जनपदसुबोध्यं युक्तिमन्नृत्ययोज्यम् ।।
बहुरसकृतमार्ग सन्धिसन्धान युक्तम्, सभर्वात शुभकाव्य नाटकं प्रेक्षकानम् ।।

इ.पू. २०० देखि २०० इसाको बिचको आचार्य मानिने भरतमुनिको यस श्लोकमा प्रयोग गरिएको ‘नाटक’ शब्दको ठाउँमा ‘साहित्य’ शब्द बुझ्दा विस्तृत अर्थ हुन्छ भने ‘नाटक’ शब्द प्रयोग गरेर बुझ्ने हो भने पनि हुन्छ तर यहाँ सन्दर्भ साहित्यको भएकोले यही बुझ्नु उचित हुन्छ ।

अहिले यत्ति नै बुझ्दा हुन्छ कि साहित्यको आरम्भ युगौँयुग पहिलेदेखि भएको हो र यसको लेखन, अध्ययन तथा पठनको काम निकै पुरानो युगदेखि भइरहेको छ । साहित्यमा लाग्नेहरु इस्वी सम्वत् आरम्भ हुनुभन्दा पहिलेदेखि नै जीवित छन् शब्दमा, अध्ययनमा, भावमा र चर्चामा ।

यसैगरी, पाश्चात्य साहित्यमा पनि अरस्तुदेखि नै साहित्यको चर्चा हुन थालेको इतिहास पाइन्छ । अरस्तुलाई त दार्शनिक नै मानिन्छ । दार्शनिक अरस्तुले साहित्यसम्बन्धी निकै लामो व्याख्यान दिएका छन् । त्यसको सार यस्तो छ – “भाषाको माध्यमबाट गरिने प्रकृतिको कलात्मक अनुकरण नै साहित्य हो ।” यसरी मनको भावदेखि जीवन वा प्रकृतिको कलात्मक अनुकरण गर्ने काम आदिकालदेखि पूर्वीयदेखि पाश्चात्य जगत्सम्म हुँदै आएको छ ।

साहित्यले भाषाको सीमालाई मान्दैन र भूगोलको सीमा पनि नाघेको हुन्छ । उसो त माथिका दृष्टान्तहरुले युगको सीमालाई पनि नाघेको स्पष्ट छ । यसैले के मानिन्छ भने नेपाली साहित्यको विकासमा अहिले विश्वभरका नेपाली साहित्यकारको ठूलो योगदान रहेको छ । अर्थात्, अहिलेको नेपाली साहित्य चाहिँ विश्वभरमा रचना भइरहेका विभिन्न विधाको नेपाली साहित्य हो । विश्व साहित्यको एक खण्ड नेपालको साहित्य हो र नेपालको साहित्यको एक खण्ड मकवानपुरे साहित्य हो ।

बागमती प्रदेशको राजधानी हेटौंडा चाहिँ मकवानपुर जिल्लाको पनि सदरमुकाम हो । कुनै बेला मकवानपुर राज्य नै थियो । अझ पुरानो इतिहासमा, कतिपयले दाबी गर्ने गरेका छन्, ताम्सालिङ राज्यको राजधानी पनि मकवानपुर नै रहेको थियो । सडक, यातायात र सञ्चारको विकास भइनसकेको नेपालको आधुनिक, मध्यकालिन तथा प्राचीन इतिहासमा मकवानपुरको आफ्नै सम्मान रहेको छ भने आधुनिक मकवानपुरको सम्मानलाई अझ बढाउने काम साहित्यले गरेको छ ।

साहित्य मकवानपुर जिल्लाको पहिचान बनिसकेको छ । ‘यसैले करिब दुई दशकदेखि मैले मकवानपुरलाई साहित्यको राजधानी भन्ने गरेको छु । यद्यपी पहिले हेटौंडालाई मात्र मानेको थिएँ र छतिवनको साहित्यिक सक्रियता राष्ट्रियस्तरमा चर्चित भएपछि मकवानपुरलाई मान्दै आएको हुँ ।’ 

मकवानपुरको साहित्यिक सक्रियता गज्जबको छ । मकवानपुरले तत्कालीन नारायणी अञ्चलमा नै बालसाहित्यको पहिलो पत्रिकाको प्रकाशन गरेको थियो । त्यसैको सम्पादकको हैसियतले मैले २०५९ मा भैरहवामा भएको नेपाल बालसाहित्यको १५ औँ वार्षिक सम्मेलन तथा राष्ट्रिय बालसाहित्य सम्मेलनमा सहभागी भई कार्यपत्र प्रस्तुत गर्ने अवसर पाएको थिएँ । मकवानपुरले त्यसै ताका एउटा राष्ट्रिय लघुकथा प्रतियोगिता पनि आयोजन गरेको थियो । हेटौंडामा साहित्य संगम मकवानपुर स्थापना भई कार्यरत थियो भने छतिवनमा झरना साहित्यिक परिवार अनि मातृभूमि साहित्यिक परिवार चाहिँ सक्रिय हुन थालेको थियो ।

मकवानपुर साहित्यको दृष्टिकोणले निकै कार्यक्रमहरु गर्ने गरेको छ । मकवानपुरको साहित्यिक कार्यक्रमको स्तरीयता पनि यसको प्रतिष्ठा बनिसकेको छ । वर्षमा दर्जनजति पुस्तकहरु प्रकाशन हुन्छन् । विभिन्न विधाका विधागत साहित्यिक संस्थाहरु पनि गठन भएका छन् । रेडियो, टेलिभिजनमा नियमित साहित्यिक कार्यक्रमहरु सञ्चालन हुन्छन् । हरेक हप्ता औपचारिक साहित्यिक कार्यक्रमहरु भइरहन्छन् । साहित्यले मकवानपुरका अनलाइनहरुमा प्राथमिकता पाइरहेका छन् । यहाँका साहित्यिक पत्रपत्रिकाहरुमा पनि साहित्यले राम्रो सम्मान पाएको छ । केही वर्ष म सम्पादक रहेको कुराकानी साप्ताहिक पत्रिकाले एक पृष्ठ ‘साहित्य शृङ्खला’ प्रकाशन गर्दै आएको थियो जसको साढे दुई सयभन्दा बढी अंक पुर्याएको थिएँ । साथै मकवानपुरका साहित्यिकारहरुको रचना देशका सबै प्रतिष्ठित साहित्यिक तथा गैरसाहित्यिक पत्रपत्रिका तथा अखबारहरुमा नियमित रुपमै प्रकाशित भइरहेका छन् । अनेक साहित्यिक अभियान पनि यस जिल्लाले चलाइरहेको छ । साहित्यलाई विस्तार गर्न तथा साहित्यकार एवम् साहित्यिक संस्था र पत्रपत्रिकालाई प्रोत्साहन गर्न मकवानपुरमा अनेकौँ पुरस्कार, सम्मान तथा प्रशंसाहरु स्थापना भएका छन् ।

वास्तवमा मकवानपुर जिल्लाको साहित्यले धेरै हदसम्म सर्वसाधारणलाई समाहित गर्न सकेको छ । साहित्यप्रतिको गज्जबको अनुराग देखिन्छ मकवानपुरमा । स्थानीय सरकार र तिनका अंगहरु, विभिन्न शैक्षिक संस्थाहरु तथा अन्य सामाजिक संस्थाहरुको लागि पनि साहित्य सहयोगी सिद्ध भएको छ ।

मकवानपुर, मुख्य गरी हेटौंडामा समाजले साहित्यलाई सम्मान दिएको छ र साहित्यले समाजलाई सम्मान दिएको छ । साहित्यले समाजको र समाजले साहित्यको गरी दुवैले एक अर्काको सम्मान पनि बढाएका छन् भन्दा अत्युक्ति नहोला । दुवैको सम्बन्ध नङ र मासुको जस्तै झाँगिदै गइरहेको छ । यसको प्रमाणको रुपमा मकवानपुरमा स्थापना भएका साहित्यिक पुरस्कार तथा सम्मानहरुलाई लिन सकिन्छ ।

भनिन्छ, मकवानपुरमा स्थापना भएका तथा सञ्चालनमा रहेका साहित्यिक सम्मान तथा पुरस्कारको संख्या सयभन्दा बढी पुगिसकेको छ । साहित्यिक पुरस्कारहरु तथा पुरस्कार वितरणका लागि अक्षयकोषहरु मकवानपुरमा स्थापना हुने क्रम बढेको छ । गत साढे दुई दशकमा मकवापुरे साहित्यले लेखनको स्तरीयता र संख्यामा जति वृद्धि गरेको छ, पुरस्कार र सम्मानमा पनि उत्तिकै प्रतिष्ठा आर्जन गरेको छ । मकवानपुरको साहित्यको परिचय अब पुरस्कार र सम्मानित पनि जोडिन आएको छ ।

प्रतिस्पर्धा गराएर वा साहित्यको सेवा गरेवापत दुवै किसिमले मकवानपुरले पुरस्कृत तथा सम्मानित गर्दै एकातिर साहित्यकारको हौसला बढाएको छ भने अर्कोतिर उत्कृष्ट साहित्य सिर्जनाको लागि प्रोत्साहनको वातावरण निर्माण गरेको छ । साहित्यसाधकलाई आकर्षणको लागि एउटा माध्यम बनाएको छ र देशभरका साहित्यकारलाई कम्तीमा एकचोटि मकवानपुरको माटोमा टेक्न पाउने अभिलाषा उमारेको छ मन मन्दिरमा ।

मकवानपुरमा विभिन्न संस्थाहरुले पुरस्कारको स्थापना गरेका छन् । ती संस्थाहरुमध्ये साहित्य संगम मकवानपुर, झरना साहित्यिक परिवार मकवानपुर तथा मातृभूमि साहित्य समाज हेटौंडा पुरस्कार तथा सम्मान स्थापना गरेर सम्मानित र पुरस्कृत गर्नमा अग्रणी भूमिका निर्वाह गरेका छन् । यहाँ यी तीन संस्थाद्वारा स्थापित पुरस्कार तथा सम्मानको यहाँ नामोल्लेख गरिएको छ तिनको रकमसहित । यसले पुरस्कार संस्थापकको पनि सम्मानमा वृद्धि हुने विश्वास रहेको छ ।

साहित्य संगम मकवानपुरद्वारा स्थापित सम्मान तथा पुरस्कारहरू

साहित्यकार केशव श्रेष्ठ ज्योतिले कथा संग्रहका लागि ‘साहित्य संगम मकवानपुर स्मृति कृति सम्मान’ स्थापना गरेका छन् । पुरस्कारको राशि २५ हजार रुपैया नगद र सम्मानपत्र रहेको छ । यसै गरी जेनन नेपाल र समिला दुलालले ‘डम्बर पूर्णमाया स्मृति कविता सम्मान’ २२ हजार २२२ रुपैया रहेको छ । यसै गरी हास्यव्यंग्यकार भैरव अर्यालको परिवारको सहयोगमा ‘भैरव अर्याल स्मृति सम्मान’स्थापना गरिएको छ । यस पुरस्कारको राशि २१हजार १११ रुपैया रहेको छ । (हास्यव्यंग्य क्षेत्रमा योगदान दिएकोमा गत वर्षको लागि यो पुरस्कार यस पंक्तिकारलाई दिइएको थियो ।)

यसैगरी १५ हजार ५५५ रुपैयाको ‘मकवानपुर साधनाश्री सम्मान’ पनि स्थापना गरेको छ साहित्य संगम मकवानपुरले । साहित्यकार विशाल अधिकारी आशुतोषले ‘भेषराज अधिकारी स्मृति छन्द सम्मान’स्थापना गरेका छन् । यसै गरी दश हजार रुपैयाको ‘सुभद्रादेवी मदन मुडवरी सम्मान’ दीपक मुडवरीले स्थापना गरेका छन् । यसै गरी शिक्षासेवी देवप्रसाद श्रेष्ठले पनि दश हजार रुपैयाको सम्मान स्थापना गरेका छन् । श्रेष्ठले स्थापना गरेको ‘मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मान’ नारी प्रतिभालाई प्रदान गर्ने गरिएको छ । साहित्यकारद्वय ऋषि केबी र पुण्यशीला श्रेष्ठ संस्थापक रहेको ‘रामहरि देवु युवा सम्मान’ दश हजार रुपैया राशिको रहेको जुन युवा साहित्यकारलाई प्रदान गरिँदै आएको छ । हेटौँडाका पुराना समाजसेवी तथा साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्य संस्थापक रहेको ‘मुक्ति तारा सम्मान’ को राशी दश हजार रुपैया रहेको छ ।

यसैगरी साहित्यकार आरसि रिजालले स्थापना गरेको ‘णकुमारी स्मृति साहित्य पुरस्कार’को राशी पाँच हजार रुपैया रहेको छ । यो पुरस्कार मकवानपुरका पुराना पुरस्कारहरुमा गनिन्छ । यसै गरी मकवानपुरका पुराना साहित्यिक पुरकारमा ‘शेषजंग स्मृति कथा पुरस्कार’ रहेको छ । शिक्षासेवी डेन्टीजंग शाह संस्थापक रहेको यस पुरस्कारको राशी पाँच हजार रुपैया रहेको छ ।

मकवानपुरमा अर्को अग्रणी साहित्यिक संस्था हो – झरना साहित्यिक परिवार । कुनै बेला छतिवनलाई साहित्यको माध्यमले देशमा चिनाउने झरना अहिले विभिन्न कारणले चर्चामा रहेजस्तै साहित्यिक पुरस्कार तथा सम्मानको लागि पनि चर्चित र सम्मानित छ ।

झरना साहित्यिक परिवार मकवानपुरमार्फत स्थापित पुरस्कार तथा सम्मानहरू

साहित्यसेवी नूरप्रसाद गौतमले ‘होमनाथ–टीकामाय प्रतिभा सम्मान’ को स्थापना गरेका छन् । सम्मानको राशी २१ हजार १२१ रुपैया रहेको छ । साहित्यकार रमेशमोहन अधिकारीले ‘शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान’ स्थापना गरेका छन् । सम्मानको राशी १५ हजार ५५५ रुपैया रहेको छ । अधिकारी नै झरना साहित्यिक परिवारका संस्थापक पनि हुन् । साहित्यसेवी विनोद सुवेदीले १५ हजार ५५५ रुपैयाको ‘बाबुलाला–भोजमाया स्मृति प्रतिभा सम्मान’ को स्थापना गरेका छन् ।

यसैगरी, साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले ७ हजार ७७७ रुपैयाको ‘खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान’ स्थापना गरेका छन् । यसैगरी राजन दङ्गालले ७,७७७ रुपैयाँको ‘सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान’ को स्थापना गरेका छन् यसै गरी ७,७७७ रुपैयाकै ‘सञ्जीवनी बुटी साहित्य सेवा सम्मान’ स्थापना तुलसी गिरीले गरेका छन् । झरना साहित्यिक परिवार आफैँ संस्थापक रहेको ‘बकैया पत्रकारिता सम्मान’ पनि रहेको छ । यस सम्मानको राशी ७,७७७ रुपैया रहेको छ ।

यसैगरी, ‘खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान’ स्थापना भएको छ । जसका संस्थापक हुन् भक्तबहादुर खत्री र पुरस्कार राशी रहेको छ सात हजार सात सय सतहत्तर रुपैयाँ । यसैगरी चन्द्रबहादुर राईले स्थापना गरेको ‘झरना–बकैया नवप्रतिभा सम्मान’ को रकम रहेको छ ५,००५ रुपैयाँ । पत्रकारिताको क्षेत्रमा पनि झरनाले एउटा पुरस्कारको स्थापना गरेको छ ‘गौकर्ण गौतम स्मृति पत्रकारिता सम्मान’ । यस सम्मानका संस्थापक हुन् सोमप्रसाद/गोवर्धन गौतम र पुरस्कारको राशी रहेको छ ११ हजार १११ रुपैयाँ । सबै पुरस्कार तथा सम्मानहरु सम्मानपत्रका साथ प्रदान गरिन्छन् ।

मातृभूमि साहित्य समाज हेटौँडाद्वारा स्थापित सम्मान तथा पुरस्कारहरू

मकवानपुरको अर्को चर्चित साहित्यिक संस्था हो – मातृभूमि साहित्यिक परिवार हेटौँडा । यसले मकवानपुरे साहित्येतिहासमा यसले पनि निकै विशिष्ट भूमिका खेलेको छ । यस संस्थाको मातहतमा पनि विभिन्न साहित्यिक पुरस्कार तथा सम्मानहरु स्थापना भएका छन् । विभिन्न साहित्यसेवी, समाजसेवी तथा शिक्षासेवीहरुले मातृभूमिलाई माया र साहित्यकारलाई सम्मान गर्न यस्ता पुरस्कार तथा सम्मानको स्थापना गरेका हुन् ।

मातृभूमि साहित्य समाजमार्फत २० हजार रुपैयाको ‘नित्यगोविन्द स्मृति मातृभूमि सङ्गीत पुरस्कार’ स्थापना गरिएको छ । यसैगरी २१ हजार रुपैयाँको ‘मायादेवी मातृभूमि साहित्य पुरस्कार’, स्थापना, १० हजार रुपैयाको ‘हातेमालो मातृभूमि युवा सृजनशील युवा सम्मान’, १५ हजार रुपैयाँको ‘क्षेत्रबहादुर बानियाँ स्मृति मातृभूमि सम्मान’, १५ हजार रुपैयाको ‘राजकुमार बानियाँ स्मृति मातृभूमि सम्मान’, ७,५०० रुपैयाँको ‘मङ्गलादेवी श्रेष्ठ स्मृति मातृभूमि बाल सम्मान’, १० हजार रुपैयाँको ‘मञ्जु सुवेदी मातृभूमि सम्मान’ स्थापना गरिएको छ । शुभेच्छुकहरुसितको सहकार्यमा यस्ता सम्मानहरुको स्थापना गरिएका हुन् ।

भीम विराग साहित्य, कला, संगीत प्रतिष्ठान, आँचल साहित्य समाज, गजल मञ्च, मुक्तक मञ्चसहित अन्य विभिन्न साहित्यिक तथा विधागत साहित्यिक संस्थाहरुले पनि पुरस्कार तथा सम्मानको स्थापना गरेका छन् । केही क्लब तथा गैरसाहित्यिक संस्थाहरुले पनि यस्ता सम्मान र पुरस्कारमा योगदान दिएका छन् ।मकवानपुरमा पुरस्कार तथा सम्मान स्थापनाको क्रम निरन्तर चलिरहेको छ । हरेक वर्ष नयाँ नयाँ पुरस्कार तथा सम्मानहरु घोषणा भइरहेका छन् । पुरस्कार तथा सम्मानले सर्वसाधारणको साहित्यिक पहुँचलाई वृद्धि गर्ने काम भइरहेको छ । साहित्यप्रति सर्वसाधारणको सम्मानका साथै लगाव पनि बढिरहेको छ । र, जहाँ प्रज्ञाधारीको सम्मान हुन्छ, त्यहाँको समाजको बौद्धिकता, प्रज्ञा स्वतः स्वाभाविक वा नैसर्गिक रुपले वृद्धि हुन्छ । यद्यपि कलुषित दम्भ भने यसको लागि वर्जित छ ।

मोफसल भनेर यदि नछुट्याउने हो भने मकवानपुरले साहित्यको नेतृत्व गरिरहेको छ विभिन्न क्षेत्रमा र साहित्यमा निसन्देह सबैभन्दा ठुलो कुरो सम्मान हो । सम्मानको हृदयलाई मकवानपुरले विस्तार गरेको छ । सम्मानको आयामलाई पनि विस्तार गरेको छ । साँच्चिकै, साहित्य, कला, सङ्गीत, पत्रकारिता अर्थात् वाङ्मय आदि क्षेत्रका साधकहरुलाई मकवानपुरले गरिरहेको सम्मान अनुकरणीय छ ।

                                                                                                                                                                                २७ पुस २०८०

                                                                                                                                                            मित्रनगर, गरुडा ४, रौतहट