सात जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८० फाल्गुन २,बुधबार १०:००
सांकेतिक तस्बिर

रौतहट । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड जरिवाना समेत तोकिसकेका ७ जना फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लुटपाट, सम्बन्ध विच्छेद तथा चेक अनादर मुद्दामा दण्ड जरिबाना समेत तोकिएर फरार रहेका ७ जना प्रतिवादीलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले साबिक रमौली गाविस वडा ६ का रामचन्द्र बैठा, लक्ष्मी बैठा, रामाप्रवेश बैठालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई लुटपाट मुद्दामा जिल्ला अदालत गौरले जनही ७५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

त्यस्तै, रमौली ७ कै बलदेव यादव र शिवाकालिया देवीलाई नियन्त्रणमा लिएको छ । उनलाई सम्बन्ध विच्छेद मुद्दामा अदालतले जनही २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

त्यस्तै, गाली बेईजती मुद्दामा ५० हजार जरिवाना तोकिएका गौर नगरपालिका ५ का प्रभात कुमार झा र चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएका दुर्गा भगवती गाउँपालिका २ का अमरनाथ पाण्डेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका सातै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत गौरमा मंगलवार उपस्थित गराइएको छ ।