लागूऔषधसहित चार जना मकवानपुर प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८० फाल्गुन ४,शुक्रबार ०९:४६

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा–१५ बाट बुधबार चार जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले फागुन २ गते बुधबार हेटौंडा–१५, रातोमाटस्थित पूर्व–पश्चिम सडकखण्डबाट लागूऔषध ओनरेक्स ५८ बोतलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले पर्साको पोखरिया नगरपालिका वडा नम्वर ९ बस्ने वर्ष ३३ को सतेन्द्र महतो कोईरी र सोही जिल्लाको कालिकामाई गाउँपालिका नं. २ बस्ने वर्ष २२ को दिनानाथ भन्ने विशाल कुशवाहलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना. ६० प ४७० नं. को मोटरसाइकलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, नियन्त्रणमा रहेकामध्ये सतेन्द्र कोईरी मोटरसाइकल चालक हुन् ।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरुलाई आवश्यक अनुसन्धानको लागि मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरि कानूनी प्रकृया अगाडि बढाइएको छ ।

यस्तै, प्रहरीले फागुन २ गते बुधबार नै हेटौंडा–१५, पिपल चौतरास्थित पुर्व–पश्चिम सडकखण्डबाट लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लागूऔषध डाईजेपाम –४६ एम्पुल, फेनारगन– ४६ एम्पुल र नुफिन –४६ एम्पुल गरी जम्मा १३८ एम्पुलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा हुनेहरुमा मकवानपुरको हेटौंडा–११, थानाभर्याङ बस्ने वर्ष ३० को रन्जित स्याङतान र वर्ष २२ को राजु मगर रहेका छन् । उनीहरुलाई प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ७८२० नं. को यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार उनीहरुको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

उक्त लागूऔषधसहित प्रहरीको नियन्त्रणमा रहेका स्याङतान र मगरलाई आवश्यक अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरी कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।