कैलाश गाउँपालिकाको १३ औं अधिवेशन सम्पन्न

तु खबर संवाददाता
२०८० फाल्गुन ५,शनिबार ०९:३८

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले १३ औं अधिवेशन सम्पन्न गरेको छ । गाउँसभाको अधिवेशन शुक्रबार सम्पन्न भएको हो ।

सो अधिवेशनबाट कर्मचारी दरबन्दी र स्थानीय वन ऐन स्वीकृत गर्नेलगायत ४ वटा प्रस्तावमाथि छलफल भई पारित गरिएको छ ।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सभामा पेश गरेको बजेट तथा योजना संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि पेश भएको योजना तथा कार्यक्रमहरु गाउँसभाले सर्वसम्मत पारित गरेको थियो ।

गाउँसभामा उपाध्यक्ष मल्लले चालू आर्थिक वर्षामा १ करोड ११ लाख आन्तरिक आय प्रक्षपण गरेकोमा पुस मसान्तसम्म २० लाख मात्र प्राप्त भएको बताए । गाउँपालिकाले चालू आवमा २७ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा गाउँसभामा २८ करोड ५१ लाख रुपैयाँको संशोधित अनुमान प्रस्तुत गरिएको थियो ।

त्यस्तै, गाउँसभामा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पेश गरेको नामटार कालिकाटार सडक आयोजनाको भेरियसनसम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट पारित गरिएको छ ।

अधिवेशनको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने तथा उत्कृष्ट कर्म गर्ने व्यक्तित्वलाई सम्मानसमेत गरिएको छ । कैलाश गाउँपालिकाको वृहत्तर हित, प्रगतिशिल विकास र सुशासनको सवालमा पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै प्रदेश सञ्चार डटकमका सम्पादक केशव समर्पणलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

त्यस्तै, कैलाश सेवा पुरस्कारबाट पालिकामा कार्यरत उत्कृष्ट कर्मचारी छनौट गरी नगद पाँच/पाँच हजार रुपैंयासहित सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा प्राविधिक शाखाका ईञ्जिनियर महेश केसी र असिस्टेन्ट सब ईञ्जिनियर नरेन्द्र दत्त भट्ट, एमआइएस अपरेटर उमेश कुमार मुक्तान, वडा सचिव शशिकला सिन्तान, निरश मुक्तान पशु प्राविधिक, कार्यालय सहयोगि अनिल प्रजा, अहेब विश्वप्रकाश सिंह, अहेब जयप्रकाश कुमार साह, विद्यालय स्टाफ नर्स विन्दा तितुङ, प्रधानाध्यापक श्यामबहादुर सिन्तान, शिक्षक दीपकुमार चेपाङ, शिक्षक ध्रुबराज बिष्ट, बाल विकास शिक्षक शुक्रबहादुर प्रजा र विद्यालय सहयोगि सिताराम सुनार रहेका छन् ।

यस्तै, राष्ट्रपति रिनङशिल्ड प्रतियोगितामा २०८० को हाइजम्पतर्फ संवरण पदक विजेता गोमा बर्ताैला र तेक्वान्दो तर्फ स्वर्ण पदक विजेता अनिशा विकलाई पाँच हजार रुपैंया नगद सहित सम्मान गरिएको छ । एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने कालिका माविका विमशा घिसिङ र प्रेम सुनार, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सोहि विद्यालयकी निर्मला हिम्डुङ र एसइइ परिक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कैलाश २ को कमला देवी माविका प्रधानाध्यापक राम एकवाल राय यादव समेत सम्मानित भएका छन् ।

यस्तै, गत आर्थिक वर्षको उत्कृष्ट उपभोक्ता समितिको रुपमा कैलाश वडा नम्वर १ को क्यूरेनी वर्ष भवन निर्माण समिति र ४ नम्वर वडा घेराबार तथा मर्मत समिति सम्मानित भएका छन् ।