मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् ।
गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका निमित्त सचिव अरुण कुमार झाले जानकारी दिए ।
मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेश प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाएका थिए ।
जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेयता यादवले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो ।