हेटौंडाको सहिद स्मारकमा जिल्लाकै अग्लो झण्डा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, नवलपुरस्थित सहिद स्मारकमा मकवानपुर जिल्लाकै अग्लो झण्डा फहराइएको छ ।
स्मारक विकास समितिले प्रजातन्त्र दिवको अवसर पारेर ६५ फिट अग्लो डण्डीमा २२ फिट लामो साइजको झण्डा फहराएको हो ।
उक्त झण्डाको सोमबार एक कार्यक्रमबीच राष्ट्रिय कलाकार हरिवंश आचार्यले उद्घाटन गरेका हुन् । सो क्रममा उनले खुसी व्यक्त गर्दै ६५ वर्षको उमेरमा ६५ फिटको झण्डा फहराउन पाउनुलाई ठूलो अवसरका रुपमा लिएको बताए ।
कार्यक्रममा स्मारक विकास समितिका अध्यक्ष एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले ३ करोड नेपालीले रुचाएको व्यक्तिबाट ३ करोड नेपालीको राष्ट्रिय झण्डा फहराइएको बताए ।
स्मारक परिसरमा राखिएको उक्त झण्डा जिल्लाकै सबैभन्दा ठुलो र अग्लो रहेको स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले बताए । साथै आजैबाट स्मारक परिसरमा दैनिक बिहान १० बजे राष्ट्रिय गान बजाउने कार्यको समेत शुभारम्भ गरिएको उनले बताए ।
कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेशकी पूर्वराज्यमन्त्री जुनेली श्रेष्ठ, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँ, हेटौँडा–११ का वडाध्यक्ष जुना दाहाल, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देललगायतको सहभागिता रहेको थियो ।