शिक्षा विधेयकमाथि छलफल गर्न संसद् शिक्षा समिति सबै प्रदेशमा जाँदै
काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० मा ‘ग्रासरूटमा’ छलफल गर्न संसद्को शिक्षा समिति सबै प्रदेशमा जाने भएको छ ।
समिति सभापति भानुभक्त जोशीले अबको केही दिनभित्रमा सातै प्रदेशमा जाने र सरोकारवालासँगउक्त विधेयकका विषयमा छलफल गर्ने जानकारी दिए ।
उनले सातै प्रदेशमा गएर मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालय, स्थानीय तहका जनप्रतिनिधि लगायतसँग छलफल गर्ने कार्यक्रम बनिरहेको बताए ।
यसअघि समितिले विभिन्न सरोकारवालासँग छलफल गरिसकेको छ । विभिन्न शिक्षक संघ संस्थाहरू, संवैधानिक आयोगका अधिकारी, शिक्षाविद्हरू, विद्यार्थी संगठनहरू, गुठी लगायतका विशेष विद्यालय अन्तर्गतका निकायहरूसँग समितिले छलफल गरिसकेको हो ।
प्रदेशमा गएर सरोकारवालासँग छलफल गरेपछि समितिले दफावार छलफल अगाडि बढाउने सभापति जोशीको भनाई छ ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा चौतर्फी आलोचना भएपछि संसदमा दफावार छलफलका लागि शिक्षा समितिमा पठाएको थियो ।