गोली चलाएको आरोपमा चार जना नियन्त्रणमा
सुर्खेत । वीरेन्द्रनगरमा गएराति गोली चलाएको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका उनीहरुको पहिचान भने खुलाएका छैन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
शनिवार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, देउतिथान नजिक स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली चलेको थियो । यद्यपि गोली उनी चढेको गाडीमा लागेको प्रहरीले जनाएको छ ।
गिरी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला सदस्य समेत हुन् । फागुन १३ गतेदेखि वीरेन्द्रनगरका संचालन हुने महोत्सवको विषयमा रहेर विवाद सिर्जना भएको आशंका गरिएको छ ।
सुर्खेत उद्योग वाणिज्य संघको आयोजनाका हुन लागेको उक्त महोत्सवको ठेक्काको विषयलाई लिएर दुर्ई समुहबीच विवाद भएको देखिएपनि पुष्टि भने भएको छैन ।
प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र एउटा मोटरसाइकल पनि बरामद गरेको छ ।